काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले बोलाएपछि ओली भेटवार्ताका लागि बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताएअनुसार छलफलमा ओलीसँगै एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र सचेत महेश बर्तौला पनि सहभागि छन् ।
बताइएअनुसार सुन प्रकरणमाथि छानबिन गर्न आयोग गठन गर्ने विषयमा छलफल चलेको छ । एमालेले आयोग गठन नगरेको भन्दै संसद सञ्चालनमा असहयोग गर्ने तयारी गरेको छ ।
एमालेको तयारीपछि प्रधानमन्त्रीले छलफल प्रारम्भ गरेका हुन् ।
दलहरुबीच भदौ ६ मा भएको सहमतिअनुसार असोज ५ मा सुन प्रकरणमाथि छानबिन गर्न आयोग गठन गर्ने सहमति भएको थियो । तर, आयोग गठनमा एमालेबाट थप सर्तहरु राखिएपछि दलहरुबीच सहमति हुन सकेको छैन ।