काठमाडाैं । सरकारले सुन तस्करीबारे जाँचबुझ गर्न आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको नेतृत्व आयोग गठन गरेको हो ।
सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएअनुसार न्यायाधीश आचार्यको नेतृत्वमा चार सदस्यीय छानबिन आयोग बनाउने निर्णय भएको हो । आचार्य संयोजकत्वको आयोगमा अर्थ मन्त्रालयका किशोरजंग कार्की, गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेका छन् ।
गृहमन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले आयोगबारे निर्णय लिएको हो ।
शर्माले जनाएअनुसार आयोगले तीन महिनाभित्रमा सुन तस्करीबारे छानबिन गरी सरकारलाई सुझाबसहितको प्रतिवेदन बुझाउनेछ ।
आइतबार बिहान मात्रै सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बीच छानबिन आयोगको कार्यादेशको सन्दर्भमा सहमति जटेको थियो । असोज ५ मा आयोग गठन गर्ने सहमति भएपनि कार्यादेशको सन्दर्भमा सहमति नजुट्दा आयोग गठन हुन सकेको थिएन ।
गत साउन ३ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको करिब ६२ केजी सुन राजस्व विभागको टोलीले बरामत गरेको थियो । उक्त सुन बरामत गरिएको घटनापछि प्रमुख प्रतिपक्षी एमालेले छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको थियो । दलहरुबीच एमालेको मागअनुसार भदौ ६ मा मिति नै तोकेर छानबिन समिति गठन गर्ने सहमति भएपनि कार्यादेश विवाद र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमणसँगै आयोग गठन अलपत्र बनेको थियो ।