

काठमाडौं । हेटौंडाको सन्चो अस्पतालबाट सुरु भएको चिकित्सकमाथिको आक्रमणको श्रृंखला अहिलेसम्म रोकिएको छैन । हेटौंडापछि चितवन, कैलाली, लमजुङ, पोखरा र ललितपुरका चिकित्सक पछिल्लो एक महिनामा मात्रै एकपछि अर्को गर्दै सांघातिक हमलाको शिकार बनिरहेका छन् ।
श्रृंखलाबद्ध हमलाको शिकार बनेपछि चिकित्सक सडक आन्दोलनमा पनि उत्रिए । चिकित्सकको निरन्तरको आन्दोलनपछि सरकार माग सुनुवाई गर्न बाध्य बन्यो । शनिबार साँझ मात्रै आन्दोलनरत चिकित्सकसँग सरकारले ६ बुँदे सहमति गरेको थियो । छ बुँदे सहमति पत्रमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुन बनाउन सरकारले प्रतिबद्धता जाहेर गरेको छ ।
जुन सहमतिपछि चिकित्सकले आन्दोलन फिर्ताको घोषणा गरेका थिए । उनीहरु आइतबारदेखि नियमित काममा फर्किएका छन् ।
तर, सरकारसँग सहमति भएको केही घण्टा नबित्दै काठमाडौंमा फेरि अर्का चिकित्सक कुटिएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत चार चिकित्सक शनिबार राति कुटिएका हुन् ।
काठमाडौं मेडिकल कलेजको नेफ्रो विभागअन्तर्गत ओपीडीमा कार्यरत डा. मनिषसहित इन्टर्न गरिरहेका डाक्टरलाई बिरामीका आफन्तले कुटपिट गरेका हुन् । डायलाइसिस गर्न आएका बिरामीका कुरुवाले डायलाइसीस गर्ने पालो ढिलो दिएको भन्दै चिकित्सकहरूमाथि आक्रमण गरेको तथ्य खुलेको छ ।
बिरामीको उपचारमै खटिएका कन्सलटेन्ट डाक्टरसहितका चिकित्सकहरूमाथि कुटपिट भएपछि चिकित्सक फेरि आन्दोलनमा उत्रिएका छन्। दोषीलाई कारबाहीको माग गर्दै चिकित्सकहरूले अस्पताल परिसरमै धर्ना दिएका छन् ।
चिकित्सकको आन्दोलनसँगै काठमाडौं मेडिकल कलेजमा आकस्मिक बाहेकका अरु सबै सेवा ठप्प भएका छन् । सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थकर्मीसँग गरेको सहमतिको मसी सुक्न नपाउँदै चिकित्सकले फेरि कुटाई खानुपर्ने परिस्थितिले स्वास्थ क्षेत्रमा फेरि आन्दोलन हुने संकेत गरेको छ ।