काठमाडौं । आइतबार बसेको संसद बैठकमा विशेष समय लिएर बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणप्रति कटाक्ष हानेका छन् । उनले प्रधानमन्त्री प्रचण्ड ‘मुड फ्रेस हुनका लागि चीन गएको’ भनेर टिप्पणी गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको र फिर्ता गरिएको घटनालाई जाडेर सभापति लामिछानले घुमाउरो पाराले प्रधानमन्त्रीको भ्रमणप्रति कटाक्ष हानेका थिए । “प्रधानमन्त्री ज्यू चाइना भ्रमणबाट ‘मूड फ्रेस’ गरेर आउनुभएको रहेछ, तर आउँदा आउँदै मूल्यवृद्धि गरेर जनताको मुड अफ गरिदिनुभयो”, उनले भनेका छन्, “फेरि मूल्यवृद्धि फिर्ता लिएर मुड फ्रेस गराउने काम गर्नुभएको छ, उहाँलाई धन्यवाद दिनुपर्छ ।”
दुई मिनेट समय लिएर बोलेका लामिछानले विभिन्न घटनालाई जोडेर प्रधानमन्त्रीकाे चर्को आलोचना गरेका थिए । उनले चीन भ्रमणसँगै आयल निगमको नाफा–घाटाको विषय, संविधान दिवसको दिन कैदीबन्दीलाई आम माफी दिइएको विषयमा सरकारको आलोचना गरे ।
लामिछानले घुमाउरो कोणबाट प्रधानमन्त्रीलक्षित आलोचना गरेका थिए ।
लामिछानेको कटाक्ष मिश्रित आलोचनाप्रति प्रधानमन्त्री प्रचण्डले जवाफ फर्काएका छन् । उनले पनि घुमाउरो शैलीमा ‘भ्रमण एजेण्डाबारे संसदलाई जानकारी गराएको विषय केही माननीयले थाहा नपाएको’ भनेर व्यंग्य गरेका छन् ।
प्रत्येक विदेश भ्रमण संसदलाई जानकारी गराएको गरिएको भन्दै आलोचनाको विरोध गरेका छन् । “म जहिलेपनि विदेश भ्रमणमा जाँदा यस सदनलाई जानकारी गराएर र एजेण्डाहरु बारेपनि मुख्य त यी हुनेछन् भनेर नै जाने गरेको छु, भारत भ्रमणमा जाँदापनि सम्मानित सदनलाई जानकारी गराएरै गएको थिए, अहिले संयुक्त राष्ट्रसंघ र चीन भ्रमणमा जानपनि मैले सम्मानित सदनलाई जानकारी गराएको स्मरण गराउन चाहन्छु”, संसदमा सम्बोधनका क्रममा प्रचण्डले भनेका छन्, “केही माननीय सदस्यलाई थाहा रहेनछ कि भन्ने लागेर अलि जोड दिएर भन्नुपर्ने अवस्था आइलाग्यो ।”
प्रधानमन्त्री प्रचण्ड गत भदौ ३० मा राष्ट्र संघीय महासभामा भाग लिन भदौ ३० मा अमेरिका प्रस्थान गरेका थिए । महासभाको कार्यक्रमपछि उनी अमेरिकाबाटै असोज ६ मा चीन पुगेका थिए । आठ दिनको चीन भ्रमणपछि प्रधानमन्त्री शनिबार काठमाडौं फर्किएका थिए ।
प्रधानमन्त्रीको झण्डै १५ दिनको विदेश भ्रमणप्रति अन्य दलका नेताले पनि आलोचना गरेका छन् । राष्ट्रिय एजेण्डाभन्दा व्यक्तिगत एजेण्डालाई प्राथमिकता राखेको भन्ने आरोप प्रधानमन्त्रीमाथि छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाटै ‘प्रचण्डले केटाकेटी पारा देखाएको’ भनेर आलोचना गरेका छन् ।