काठमाडौँ। शुक्रबार पक्राउ परेका अनमोल केसीसँग प्रहरीले तीन घण्टा बयान लिएको छ।
ठगी आरोपमा उजुरी परेपछि पक्राउ परेका केसीलाई ठगीका विषयमा प्रहरीले बयान लिएको हो।
प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा केसीसँग सोधपुछ गरेको थियो।
केसीलाई प्रहरीले बयान लिएपछि म्याद थपको प्रक्रिया सुरु गर्न सरकारी वकिलको कार्यालयमा लगिएको छ।
अनमोलले आफूले १० लाख रकम निर्माण पक्षबाट लिएको स्वीकार गरेका छन्।
तर आफूले फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ निर्माताले लिन अस्वीकार गरेको केसीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।
स्क्रिप्ट चित्त नबुझेर फिल्म अस्वीकार गरेको अनमोलको दाबी छ।
रावायण निर्माण पक्षले भने केसीमाथि १ करोड १५ लाख रुपैयाँ असुली गरेको आरोप लागेको छ।
फिल्म बनाउनका लागि भनेर आफूले ठूलो रकम बजरामा पठाइसकेको तर आपराधिक विश्वासघात गरी केसीले फिल्म खेल्न नमानेपछि उक्त रकम फसेको निर्माण पक्षको भनाइ छ।
केसीविरूद्ध प्रारम्भिक रूपमा रावायण निर्माण पक्षकी चन्द्रकला कटवालले जाहेरी दिएकी थिइन्।
केसीले रकम असुली गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी परेको थियो। उक्त जाहेरीका आधारमा कार्यालयको टोलीले भक्तपुरको साँगाबाट शुक्रबार साँझ साढे ५ बजे पक्राउ गरेको थियो।
उक्त प्रकरणमा केसीलाई प्रहरीले पटक(पटक छलफलमा आउन बोलाएपनि नआएको कारण पक्राउ गर्न परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताएका थिए।
केसी आफ्नै कारमा काभ्रेबाट काठमाडौं फर्किँदै थिए। कार्यालयको टोलीले उनको कार साँगामा रोकेको थियो।
बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको पत्रका आधारमा केसीविरूद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो। यसपछि शुक्रबार उनी पक्राउ परेका थिए।