काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोसीमा बहुमत पुग्ने अवस्थामा मात्रै मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिन सकिने बताएको छ ।
आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले विगतको निर्वाचनमा भएको सहकार्य र प्रदेशमा राजनीतिक स्थिरताका लागि बहुमत पुग्ने अवस्थामा विश्वासको मत दिन सकिने बताएका हुन् ।
कोसी प्रदेशका जनताले मध्यावधि नचाहेको र प्रदेशमा राजनीतिक स्थिरताका लागि ठूला दलहरू मिल्नुपर्ने उनको भनाइ छ । नेता सिटौलाले अहिलेसम्म विपक्षी गठबन्धनका नेताहरू राप्रपासँग समर्थन माग्न र कुनै वार्ता गर्नसमेत नआएको बताए ।
उनले आगामी दिनमा र निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि सहमति गरेर मात्र अब कोसीमा बन्ने सरकारलाई सहमति दिन सकिने बताए ।
अर्को प्रसंगमा सिटौलाले जातीय सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउने प्रयासको आफूहरूले सधैँ विरोध गर्ने बताए । कोसी प्रदेशका नामकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको अभिव्यक्तिका कारण कोसीमा अस्थिरता उत्पन्न भएको र आन्दोलन भइरहेको उनको भनाइ छ ।