काठमाडौँ। कलाकार अनमोल केसी हिरासतमुक्त हुने भएका छन्।
उनलाई आइतबार बेलुकी हाजिरी जमानीमा छाड्ने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।
आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार पक्राउ परेका केसीलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। ‘रावायण’ फिल्म खेल्न उनले १० लाख रूपैयाँ लिएको तर पछि नखेल्ने भनेर रकम पनि फिर्ता नगरेको आरोप उनीमाथि छ।
फिर्ता नगरेपछि निर्माताले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी परेपछि प्रहरीले गत शुक्रबार केसीलाई पक्राउ गरेको हो।
उनी हिरासत बस्न अटेर गर्दै अस्पताल बसेका थिए। आज पनि अदालतमा अस्पतालबाटै फिर्ता भएका थिए।
शुक्रबार पक्राउ परेको र शनिबार सार्वजनिक बिदा भएकाले उनलाई अदालतमा उपस्थित गरिसकेको थिएन।
आइतबार सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिएको थियो। अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले तीन दिनको म्याद दिएको थियो।