काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार नेपाली कांग्रेसका लागि कति टाउको दुखाईको विषय बनेको छ भन्ने कुरा पछिल्ला दिनमा घाम जत्तिकै छर्लङ्ग भइरहेको छ । प्रचण्ड नेतृत्वको सरकारले अलोकतान्त्रिक गतिविधि गरेको, भ्रष्टाचारमा पौडी खेलेको, माओवादी नेतालाई सफाइ दिएको जस्ता आरोप कांग्रेस वृत्तबाट आइरहेका छन् । प्रचण्डले पाँचै वर्ष आफ्नो नेतृत्वको सरकार जाने अभिव्यक्ति दिएपछि त झन् कांग्रेसको एउटा तप्का निकै आतंकित देखिएको छ ।
प्रचण्डले आफूलाई प्रयोग मात्रै गरिरहेको कांग्रेस नेताहरुको बुझाई छ । जनमतको हिसाबले निकै सानो शक्तिले मनलागी सरकार चलाइरहेको आरोप नेताहरुको छ ।
कांग्रेस महामन्त्री गगन कुमार थापाले जसरी पनि प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नु पर्ने बताएका छन् । आइतबार कांग्रेसको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफ्ना मन्त्रीलाई बेकम्बा बनाएको र प्रधानमन्त्री प्रचण्डले मनलागी सरकार चलाएको आरोप लगाए ।
“अहिलेको सरकारले जनताले अपेक्षा गरेअनुसार सामान्य काम पनि गर्न सकेको छैन, यस्तो सरकार कति समय चलाइरहने ?”, महामन्त्री थापाले प्रश्न गरेका छन्, “अब कांग्रेसले निर्णय लिनैपर्छ, यसरी अगाडि बढ्न सकिन्न, यही अवस्थामा जाने हो भने कांग्रेस रहन्न ।”
थापाले हालकै शैलीले सरकार अघि बढ्न नसक्ने स्पष्ट पारेका छन् ।
थापाले प्रचण्ड र गठबन्धनबीच भएको पुरानो सम्झौता सम्झाउँदै अब माधव नेपाल प्रधानमन्त्री हुनुपर्ने अभिव्यक्तिसमेत दिएका छन् । उनले गठबन्धन बन्दा प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री बन्ने सम्झौता गरेको समेत सम्झाएका छन् ।
थापाले प्रचण्डले बनाएको समाजवादी मोर्चाको पनि विरोध गरेका छन् । सत्ताको ठूलो दल कांग्रेसलाई दबाबमा राख्न प्रचण्डले मोर्चा बनाएको थापाको आरोप छ ।
संस्थापन पक्ष भने मौन
सरकार परिवर्तनको सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा मौन छन् । देउवा मौन रहिरहँदा उनी पक्षीय नेताहरुले भने सरकार कायमै रहने कोणबाट अभिव्यक्तिहरु दिइरहेका छन् । प्रचण्ड नेतृत्वको सरकार ढाल्नु कांग्रेसका निम्ति नै घातक हुने उनीहरुको भनाई छ ।
सभापतिमा चर्चा चलेका नेता शशांक कोइराला र अर्का नेता बिमलेन्द्र निधिले सार्वजनिकरुपमा वर्तमान गठबन्धनको विकल्प नभएको बताएका थिए । सरकार ढाल्ने कुराले मुलुकलाई थप अनिश्चिततामा धकेल्ने उनीहरुको भनाई छ ।
सरकार परिवर्तनको सन्दर्भमा केही दिनअघि मात्रै इतर समूहका नेता शेखर कोइरालाले देउवालाई भेटेका थिए । तर, सरकारका विषयमा सोध्दा समेत देउवाले बोली नउक्काएको कुरा कोइरालाले सार्वजनिक गरेका छन् ।
घटनाक्रमलाई नियाल्दा कांग्रेसको इतर पक्ष जसरी पनि सरकार परिवर्तनको खेलमा रहेको तर, संस्थापन पक्ष हालकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको देखिन्छ । तथापी, आवरणमा देखिने खेल र भित्रि खेल फरक हुने गरेको दृष्टान्तलाई बिर्सन सकिँदैन ।