काठमाडौं । नेपाली बजारमा दुई सातादेखि सुनको भाउ निरन्तर घटिरहेको छ । असोज ३ मा प्रतितोला एक लाख १३ हजार रुपैयाँ रहेको सुनको भाउ असोज १६ मा आउँदा एक लाख छ हजार छ सय रुपैयाँमा झर्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो १० दिनको बीचमा सुनको भाउमा छ हजार चार सय रुपैयाँले गिरावट आएको छ ।
निरन्तरको गिरावटका बीच असोज १५ (सोमबार)को तुलनामा १६ (मंगलबार)मा मात्रै एक हजार तीन सय रुपैयाँले भाउ सस्तिएको थियो । तर, निरन्तरको गिरावटको बीच बुधबार सुनको भाउ केही बढेको छ । मंगलबारको तुलनामा बुधबार तीन सय रुपैयाँले भाउ बढेको हो ।
मंगलबार एक लाख छ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार एक लाख छ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको भाउ यसअघिको तुलनामा स्थिर छ । मंगलबार नेपाली बजारमा प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पछिल्लो १० दिनमा चाँदीको भाउ एक सय २० रुपैयाँले सस्तिएको छ । गत असोज ७ मा चाँदी प्रतितोला एक हजार चार सय ३० रुपैयाँ रहेकोमा मंगलबारसम्म आउँदा एक हजार तीन सय १० रुपैयाँमा झरेको छ ।