काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको बताए ।
जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेशाको सुरक्षा, हित र वृद्धिविकासमा सरकार सचेत र गम्भीर रहेको उनको भनाई थियो।
‘यसबारे सरकारले स्वास्थ्यकर्मीसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र सोअनुरूपको गृहकार्य गरिसकेको छ।’, उनले भने, ‘स्वास्थ्यजस्तो अतिसंवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ।’
दिक्षान्त समारोहका अवसरमा प्रतिष्ठानमा अध्ययन गरेका स्नातकोत्तर र स्नातकका गरी कुल पाँच सय ४१ जना विद्यार्थी दिक्षित भएका छन्।