स्क्रब टाइफसबाट बैतडीमा एकजनाको मृत्यु-Sutra News

स्क्रब टाइफसबाट बैतडीमा एकजनाको मृत्यु

बिहिबार, १८ असोज २०८०

बिहिबार, १८ असोज २०८०

बैतडी। स्क्रब टाइफसबाट बैतडीमा बिहीबार एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका ६ गौकुराका ६८ वर्षीय शोभानसिंह भण्डारी रहेको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा भानु चालिसेले जानकारी दिए।



उच्च ज्वरो आएर बुधबार जिल्ला अस्पताल आएका बृद्धको स्वास्थ्य जाँच गर्दा स्क्रब टाइफस देखिएको थियो। यसका साथै उनको रगतमा अक्सिजनको कमी र मिर्गौलामा समेत समस्या देखिएको डा चालिसेले बताए।

अक्सिजनको कमी र थप उपचारका लागि आइसियू आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकोमा बाटामै उनको मृत्यु भएको आफन्तले बताएका छन्।

माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने गर्छ। झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

स्क्रब टाइफसको संक्रमण भएमा धेरै ज्वरो आउँछ। टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने जस्ता लक्षण देखा पर्न थाल्छन्। विस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा अवरोध आउने जस्ता समस्या बढ्ने चिकित्सक बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट