लचक भयो राष्ट्र बैंक : शेयर कर्जाको सीमा वृद्धि-Sutra News

लचक भयो राष्ट्र बैंक : शेयर कर्जाको सीमा वृद्धि

शुक्रबार, १९ असोज २०८०

शुक्रबार, १९ असोज २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमामा परिमार्जन गरेको छ । एकीकृत निर्देशन २०७९ संशोधन गर्दै शेयर कर्जाको सीमा वृद्धि गरेर यसअघिको १२ करोडको सीमा हटाउँदै राष्ट्र बैंकले व्यक्तिगततर्फ ३ करोडले बढाएर १५ करोड र संस्थागत लगानीकर्ताका लागि २० करोड तोकेको हो ।



राष्ट्र बैंकको सर्कुलरमा भनिएको छ, ‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (सिङ्गल अब्लिगर लिमिट) कुल १५ करोड कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरिएको छ ।’

अब शेयर धितो राखेर व्यक्तिगत कारोबारीले समग्र बैंकिङ प्रणालीबाट १५ करोड रुपैयाँसम्म कर्जा लिन पाउने छन् भने संस्थागत लगानीकर्ताको हकमा यो सीमा २० करोड कायम गरिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति मार्फत् शेयर बजारमा जाने मार्जिन प्रकृतिको कर्जामा सिमा लगाएको थियो ।

सो व्यवस्था पश्चात एकाघर परिवारले एउटा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समर्ग्र बैंकिङ प्रणालीबाट १२ करोड सेयर कर्जा लिन पाउने व्यवस्था थियो । गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले ४ करोडको सिमा हटाएको थियो ।

नेपाल राष्ट्र बैंकलाई शेयर कर्जाको सिमा बढाउन वा हटाउन चौतर्फी रुपमा दबाब पर्दै आएको थियो । अर्थमन्त्री डा. प्रकाश शरण महत र प्रमुख विपक्षी दलका नेता केपी ओलीले समेत १२ करोडको सिमा हटाउनुपर्ने भन्दै सार्वजनिक रुपमा नै अभिव्यक्ति दिँदै आएका थिए । नेपाल राष्ट्र बैंकको शेयर धितो सम्बन्धी नयाँ व्यवस्थाले शेयर बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट