काठमाडौं । पछिल्लो समय अर्थतन्त्रमा थप समस्या देखिन थालेको चर्चा छ । कर्मचारीको तलब व्यवस्थापनदेखि कतिपय निर्माण व्यवसायीको भुक्तानीसमेत नभएको विषयहरु बाहिर आएका छन् । संसदमा पनि सांसदहरुले अर्थतन्त्रमा थप समस्याहरु देखिन थालेको बताउन थालेका छन् ।
एकातिर बढ्दो महँगी र अर्कोतिर आम मानिसमा बन्न गएको मनोविज्ञानले अर्थतन्त्रलाई थप दबाबमा पार्ने त होइन ? भन्ने चिन्ता पनि देखिएको छ । तर, अर्थमन्त्री डा. प्रकाशरण महत चर्चा चलाइएजस्तो अर्थतन्त्रमा समस्या नभएको दाबी गर्दछन् । उनले कुनै पनि भुक्तानीहरु नरोकिएको पनि दाबी गरेका छन् ।
अहिले बढी चर्चामा आएको निर्माण क्षेत्रसँग सम्बन्धित भुक्तानी खास बाँकी नरहेको उनले बताएका छन् । माग भएबमोजिमको भुक्तानी गर्न करिब छ अर्ब रुपैयाँ मात्रै बाँकी रहेको र प्रक्रिया पूरा हुनासाथ उक्त रकम पनि भुक्तानी हुने उनले बताए ।
“बाहिर हल्ला भएजस्तो समस्या छैन । भुक्तानी रोक्किएको भन्ने पनि होइन”, शुक्रबार चितवनमा सञ्चारकर्मीहरुको कुराकानीमा उनले भनेका छन्, “असार मसान्तसम्ममा रु. ६० देखि ७० अर्ब तिरिसकेका छौँ, अब रु. ६ देखि सात अर्बजति बाँकी होला, त्यो प्रक्रियागतरुपमा भुक्तानी हुन्छ ।”
अर्थतन्त्रमा केन्द्रीय बैंकका केही नीतिले समस्या सिर्जना गरेको अर्थमन्त्रीको बुझाई छ । “विगतमा कहाँ परिणाम आउँछ, कहाँ आउँदैन नहेरी लगानी भयो, जुन निर्णयको असर अहिले देखिँदैछ”, उनले भनेका छन्, “अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढ्यो र उत्पादन पनि भएन । जसका प्रभाव समग्रमा पर्यो ।”
समग्र समस्यालाई हल गर्न सरकार लागिपरेको उनले बताएका छन् । देखिएका समस्याहरु क्रमिकरुपमा हल हुँदै जाने उनको भनाई छ ।
पछिल्लो समय दाबी भुक्तानी रोकिएको भन्दै निर्माण व्यवसायीहरु आन्दोलित छन् । काम सकिएका आयोजनामा पनि भुक्तानी नहुँदा समस्यामा परेको भन्दै व्यवसायीले सरकारको विरोधमा प्रदर्शन गरिरहेका छन् । बुधबार मात्रै संसदको पूर्वाधार विकास समितिले अबिलम्ब निर्माण व्यवसायीहरुको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको थियो ।