काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो मिसन ८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ २ सिट मात्रै आएको बताउँदै उनले मिसन ८४ पछि बहुमतको सरकार बनाउने बताएका हुन् ।
आइतबार नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारबाट देश र जनताको रक्षा हुन नसक्ने टिप्पणी गर्दै एमाले नेतृत्वको सरकारपछि देश र जनताको रक्षा र ओरालो लागेको देशको अर्थतन्त्र उकालो लाग्ने बताए ।
उनले भने,‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ । ७ प्रतिशतभन्दा माथि पुर्याइएको यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ । देश अप्ठेरो अवस्थामा पुगेको छ । अझै अप्ठेरो गतिमा पुर्याउनु हुँदैन ।’
एमाले सरकारमा हुँदा देशको एक ठाउँमा मात्रै होइन, देशको पूर्व मेचीदेखि महाकालीसम्म विकासको कामलाई तीव्रताका साथ बढाएको समेत ओलीको दाबी थियो ।