राप्रपाको साथ खोज्दै सत्ता गठबन्धन, कोशीबाट होला त सुरुवात ?-Sutra News

राप्रपाको साथ खोज्दै सत्ता गठबन्धन, कोशीबाट होला त सुरुवात ?

बुधबार, २४ असोज २०८०

बुधबार, २४ असोज २०८०

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सत्ता सहकार्यको प्रस्ताव गरेको छ । गठबन्धनले कोशी प्रदेशमा तत्कालै सहकार्य गर्दै केन्द्रमा पनि सहकार्य गर्नेगरी प्रस्ताव राप्रपालाई गरेको छ ।



मंगलबार गठबन्धनको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई उक्त प्रस्ताव राखेका थिए । राप्रपाका प्रवत्ता मोहन श्रेष्ठले बताएअनुसार मंगलबारको छलफल निष्कर्षमा नपुगेपछि फेरि छलफल गर्ने सहमति भएको छ ।

“अध्यक्षज्यू र प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ, भेटवार्तामा प्रधानमन्त्रीले कोशीमा सरकार गठनको लागि सहयोग गर्न प्रस्ताव गर्नुभएको छ”, भेटवार्ताबारे राप्रपा प्रवत्ता श्रेष्ठले भनेका छन्, “अध्यक्ष ज्यूले निर्णय दिइसक्नुभएको छैन, फेरि छलफल गर्ने सहमति भएको छ ।”

उनका अनुसार अध्यक्ष लिङ्देनले सहकार्यको स्पष्ट खाका दिन भनेका छन् । कोशीमा पनि कसलाई उठाउने हो भन्नेबारे पनि स्पष्ट पार्न प्रधानमन्त्रीले लिङ्देनले आग्रह गरेको प्रवत्ता श्रेष्ठले बताए ।

सत्ता गठबन्धनले यसअघि नै कोशीमा सघाउने सर्तमा राप्रपालाई संसदीय समितिमा भागवण्डा छुट्याएको थियो । माओवादी केन्द्रले आफ्नो भागमा परेको पूर्वाधार तथा विकास समितिको नेतृत्व राप्रपालाई सुम्पिएको थियो । उक्त भागवण्डाको सहमतिपछि राप्रपाका नेताहरुले सहकार्यको सुरुवात भएको बताएका थिए । नेताहरुले कोशीमा सत्ता गठबन्धनलाई राप्रपाले सघाउने बताएका थिए ।

गठबन्धनभित्रै विवाद, मुख्यमन्त्रीको दाउमा राप्रपा

कोशी प्रदेशमा अब बन्ने सरकार संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठन हुनेछ । जुन व्यवस्थाअनुसार प्रदेशसभाको जुनसुकै पात्रले पनि बहुमत पुर्‍याउने दाबीसहित सरकार गठनको लागि दाबी पेश गर्न सक्छ । दलीय ह्वीप नलाग्ने यो अवस्थामा गठबन्धनभित्र मात्रै नभई प्रत्येक दलभित्र पनि धेरै आकांक्षी देखिएका छन् ।

अहिले कांग्रेसभित्रै तीन जना आकांक्षी देखिएका छन् भने गठबन्धनभित्र प्रत्येक दलले सरकारको नेतृत्वमा इच्छा जाहेर गरेका छन् । यस्तोमा बेग्ला–बेग्लै लबिङ्ग चलिरहेको अवस्थामा राप्रपाले पनि नेतृत्वमा दाउ गरेको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले यसअघि नै सार्वजनिकरुपमा राप्रपाले मुख्यमन्त्री पाउनसक्ने बताएका थिए । “हामीलाई यसअघि नै मुख्यमन्त्रीको अफर आएको हो, हामीले नमानेको हो”, विदेश भ्रमणमा फर्किँदै गर्दा लिङ्देनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भनेका थिए, “त्यहाँको गणितीय अवस्थाअनुसार हामीले पनि मुख्यमन्त्री पाउन सक्छौं ।”

बताइएअनुसार प्रधानमन्त्रीसँगको मंगलबारको छलफलमा पनि अध्यक्ष लिङ्देनले ‘राप्रपाले सबैलाई मिलाएर लैजान सक्ने’ बताएका थिए । “हामी सबैलाई मिलाएर लैजान सक्छौं, त्यसरी विकल्प सोंच्दा के होला ?”, लिङ्देनले घुमाउरो शैलीमा प्रस्ताव राखेको प्रधानमन्त्रीनिकट एक नेताले बताए ।

प्रधानमन्त्रीले भने यसअघिकै सहमतिअनुसार सघाउन आग्रह गरेका छन् । साथै, केन्द्रमा पनि सहकार्य गर्नसकिने बताएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सदस्यको समर्थन चाहिन्छ । गठबन्धनसँग ४७ सदस्य भएपनि यसअघिकै घटनाहरु पूनरावृत्ति हुने जोखिम छ । यस्तोमा छ सदस्य भएको राप्रपाले सघाएमा गठबन्धनसँग सहज बहुमत पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट