काठमाडौं । भागवण्डामा सहमति भएपछि नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चुनिएका छन् । सहमतिअनुसार अछामका कृष्णप्रसाद जैसी अध्यक्षमा सर्वसम्मत छानिएका हुन् ।
नेताहरुबीच सहमति भएसँगै अछामका कमल तिमिल्सिना, भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका थिए । बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकटका नेताहरुले सर्वसम्मत नेतृत्व छान्न उम्मेदवारसहितका नेताहरुसँग छलफल गराएका थिए ।
सहमतिअनुसार अध्यक्षमा चयन भएका जैसी कर्णबहादुर थापा निकट हुन् ।
उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही यसअघि नै निर्विरोध भइसकेका थिए । यसैगरी, सचिवमा रणबहादुर चन्द निर्विरोध चुनिएका छन्। रतनराज रेग्मी र राजेशकुमार खातीले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत भएका हुन्।
पार्टी पूर्वउपाध्यक्ष भीम रावलले भागवण्डामा दुई उपसचिव पाएका छन् । नरबहादुर विक र भागिरथी विष्ट रावल पक्षबाट उपसचिव बनेका छन् ।