फेरि बढ्न थाल्यो सुनको भाउ, सातामै तीन हजारले बृद्धि-Sutra News

फेरि बढ्न थाल्यो सुनको भाउ, सातामै तीन हजारले बृद्धि

शुक्रबार, २६ असोज २०८०

शुक्रबार, २६ असोज २०८०

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि बढ्न थालेको छ । तीज गएसँगै घटेको सुनको भाउ दसैं लागेसँगै बढ्न थालेको हो ।



बिहीबारको तुलनामा शुक्रबार मात्रै सुनको भाउमा छ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबार सुनको भाउ प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ पुगेको छ ।

सुनको भाउ पछिल्लो एक सातादेखि नै निरन्तर उकालोमा छ । असोज १९ मा प्रतितोला एक लाख ७ हजार तीन सय रुपैयाँ रहेको सुनको भाउ असोज २६ मा आउँदा एक लाख १० हजार एक सय रुपैयाँ पुगेको छ । महासंघले जनाएअनुसार योबीचमा सुनको भाउ दुई हजार आठ सय रुपैयाँले बृद्धि भएको छ ।

तीजमा प्रतितोला एक लाख १३ हजार रुपैयाँसम्मका पुगेको भाउ त्यसयता घटेको थियो । सुनको भाउ प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँसम्म झरेको थियो ।

सुनसँगै चाँदीको भाउ पनि पछिल्लो समय बढेको छ । पछिल्लो एक सातामा मात्रै चाँदी भाउमा तोलामा ३५ रुपैयाँले बृद्धि भएको छ । असोज १९ मा प्रतितोला एक हजार तीन सय १० रुपैयाँ रहेको चाँदीको भाउ असोज २६ मा आउँदा एक हजार तीन सय ४५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट