काठमाडौं । दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । गत वर्ष घटस्थापनाको एक साताअघिबाटै नयाँ नोट साट्ने सुविधा दिएको राष्ट्र बैंकले यसपालि भने केही ढिला गरी नयाँ नोट साट्ने सुविधा दिएको हो ।
प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । जसअनुसार एक व्यक्तिले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका १–१ बन्डल नयाँ नोट साट्न पाउनेछन्।
कहाँ–कहाँबाट पाइन्छ साट्न ?
काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ ।
काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।