काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । १३.१९ अंकले बढ्दै बजार १८६४.६२ को बिन्दुमा उक्लिएको छ । समग्रमा बजार ०.७१ प्रतिशतले बृद्धि भएको छ ।
मंगलबार होटल तथा पर्यटन, निर्जिवन बीमा र व्यापारबाहेकका सबै उपसूचकको मूल्यमा बृद्धि भयो । सबैभन्दा धेरै फाइनान्स उपसूचकमा १.३० प्रतिशतले बृद्धि भयो ।
मंगलबार ३८ लाख १३ हजार २३३ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब आठ करोड रुपैयाँ बराबरको भयो । बजार बढेको भएपनि कारोबार रकम भने झण्डै एक महिनायताकै सर्वाधिक कम हो ।
मंगलबार कारोबारमा आएका २३७ कम्पनीमध्ये १७३को मूल्यमा बृद्धि भएका छ भने ५७ को मूल्य घटेको छ । सात कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यस दिन हाथवे इन्भेष्टमेन्ट शीर्ष स्थानमा रहेको छ। यस दिन कम्पनीको ४ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।
बजार करिब दुई सातादेखि यता नै घटिरहेको थियो । मंगलबार बृद्धि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएसँगै बढेको देखिन्छ ।