१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले माधव-झलनाथ समूहको राष्ट्रिय भेला-Sutra News

१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले माधव-झलनाथ समूहको राष्ट्रिय भेला

बिहिबार, ५ चैत्र २०७७

बिहिबार, ५ चैत्र २०७७

काठमाडौं- एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ ।



बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समूहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो ।

भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओली २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको जनताको बहुदलीय जनवादको कार्यक्रमअनुरूप अगाडि बढ्न नसकेको निष्कर्ष निकालेको छ । नेपाल समूहले जबजको कार्यदिशालाई बलियो रूपले कार्यान्वय गर्दै अगाडि बढ्ने निर्णय गरेको छ ।

‘नवौँ राष्ट्रिय महाधिवेशनले पास गरेको पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद त्यो जनताको बहुदलीय जनवादको मर्म, भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने जुन नवौँ राष्ट्रिय महाधिवेशनको कार्यदिशा हो, त्यो कार्यदिशालाई यो भेलाले फेरि एकपटक पुनर्पुष्टि गरेको छ । र, हामीले के भनेका छौँ भने पार्टी अध्यक्ष कमरेड केपी ओलीले त्यो कार्यदिशालाई सही ढंगले पक्रिन सक्नुभएको छैन,’ नेता योगेश भट्टराईले भने, ‘३ वर्षको सरकार सञ्चालनको क्रममा तीनवटा नीति तथा कार्यक्रम जो संसदमा प्रस्तुत भए, बजेट प्रस्तुत भए ती नीति, कार्यक्रम र बजेटले पार्टीको घोषणा पत्र र पार्टीको बहुदलीय जनवादको यो नीति जसले समाजवादी दिशामा अघि बढ्ने नीति लिएको छ । त्यो नीतिमा उहाँले राम्रो ढंगले काम गर्न सक्नुभएन त्यसैले यो भेलाले त्यो पार्टीको नवौँ महाधिवेशनको कार्यदिशालाई बलियो ढंगले समाउने र त्यसको कार्यान्वयनको निम्ति अगाडि बढ्ने निर्णय गरेको छ ।’

सर्वोच्च अदालतले एमाले ब्युँताएको अवस्थामा नेपाल समूहले २ जेठ २०७५ मा कायम रहेका पार्टीका सम्पूर्ण कमिटीलाई सक्रिय बनाउने निर्णय पनि गरेको छ । अध्यक्ष ओलीले षड्यन्त्र गरेको भन्दै नेता भट्टराईले अध्यक्ष ओलीले त्यसपछि बनाएको कुनै पनि पार्टी कमिटीलाई स्वीकार नगर्ने निर्णय गरेको पनि बताए ।

‘पार्टी अध्यक्ष केपी ओलीको समूहबाट षड्यन्त्र हुँदैछ । ०७५ साल जेठ २ गते कायम भएका कमिटीको बदलामा बनाइएका अर्का कुनै पनि संरचनालाई हामी स्वीकार्दैनौँ’ उनले भने ।

भेलाले देशभरका पार्टी कमिटीलाई भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न निर्देशनसमेत दिएको छ । जनवर्गीयको राष्ट्रिय भेला आयोजना गर्ने तथा आगामी तीन महिना संगठन परिचालन गरिने पनि नेता भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट