काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ । अघिल्लो साताको तुलनामा तीन हजार छ सय रुपैयाँले बढेको छ भने बुधबारको तुलनामा पाँच सय रुपैयाँले बढेको छ ।
तीजसँगै घटेको सुनको मूल्य असोज १६ मा आउँदा एक लाख छ हजार छ सय रुपैयाँसम्म पुगेको थियो । तर, दसैँ लागेसँगै सुनको मूल्य बढ्न थालेको थियो ।
असोज १६ देखि हालसम्म सुनको मूल्यमा सात हजार एक सय रुपैयाँले बृद्धि भएको छ ।
महासंघका अनुसार सुनको मागमा आएको बृद्धिसँगै मूल्य बढेको हो ।
बुधबार तुलनामा बिहीबार चाँदीको मूल्य केही घटेपनि पछिल्लो सातामा मात्रै चाँदीको मूल्यमा ५० रुपैयाँभन्दा बढीले बृद्धि भएको थियो । बिहीबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।