काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आर्थिक अवस्था क्रमशः सुद्धढ हुँदै गएको छ । यसअघिका ऋण दायित्व भुक्तान गर्दै आएको निगमले नयाँ थप तीन वटा जहाज किन्ने प्रक्रिया पनि सुरु गरेको छ ।
निगमले आन्तरिक हवाई सेवालाई थप विस्तार गर्ने योजनाअनुसार तीन वटा ट्वीनअटर जहाज खरिदका लागि बोलपत्र आव्हान गरेको हो । आइतबार सार्वजनिक गरिएको सूचनाअनुसार आगामी ५ डिसेम्बरसम्म बोलपत्र भर्न सकिनेछ ।
निगमले सार्वजनिक गरेको सूचनामा जहाजको स्पेसिफिकेसन उल्लेख गर्दै जहाज बिक्री गर्न चाहने कम्पनीलाई बोलपत्र हाल्न भनिएको छ ।
निगमले नयाँ जहाजसँगै आन्तरिकतर्फ २२ वटा नयाँ गन्तव्यमा सेवा दिने बताएको छ । निगमले केही समयलगत्तै थप अन्य जहाज पनि खरिद गर्ने जनाएको छ । हाल निगमसँग आन्तरिम उडानमा जम्मा दुई वटा ट्वीनअटर जहाज छन् ।
बताइएअनुसार निगमले आन्तरिक स्रोतबाट नै जहाज खरिद गर्न लागेको छ । आर्थिक अवस्था मजबुद बनाउँदै गएको निगमले हालैमात्र सञ्चय कोष र नागरिक लगानी कोषको बाँकी बक्यौता भुक्तानी गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा आएसँगै सुदन किराँतीले निगमलाई आन्तरिकरुपमा व्यवस्थित बनाउन निकै पहल गरेका थिए । उनको हस्तक्षेपकारी भूमिकासँगै क्रमशः घाटामा गएको निगम नाफा उन्मुख बनेको हो । निगमको पछिल्लो सुधार नेपाल विद्युत प्राधिकरणको शैलीमा देखिन्छ ।