दसैँलाई बडा दसैँ, दशहरा, विजया दशमी आदि नामले चिनिन्छ । आश्विन शुल्क पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने महान् पर्व हो यो । दसैँ नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो ।
त्रेतायुगमा विजयदशमीको दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेषरूपमा मनाइन्छ । यस चाडलाई असत्यमाथि सत्यको विजयको रूपमा मानिन्छ । दसैँ चाड हर्ष एवम् उल्लासको पर्व हो ।
दसैँले एउटा छुट्टै आनन्द र रौनकताको अनुभूति दिलाउँछ । यस चाडलाई विशेष महत्वका साथ मनाइन्छ । देश, विदेश वा टाढा–टाढा भएका आफन्तजनहरू भेटघाट हुने वातावरण दसैँ चाडमा बन्दछ । दसैँमा टिका, जमरा, दक्षिणा र पिङको मज्जालाई छुट्टै खास महत्वका रूपमा लिइन्छ । दसैँ केवल परम्परा मात्र होइन, यसमा नेपाली समाजको मूल्य र मान्यता पनि निहित छन् । यसको विशिष्ट महिमा र महत्व पनि छ । दसैँमा आफूभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आर्शिवाद दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सन्देश दिन्छ । यो संस्कारलाई हाम्रो समाजमा निरन्तरता दिनुपर्छ भन्ने संकेत पनि हो ।
दसैँमा लगाइदिने टिकाले मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाउँछ र पराक्रमी भावको विकास गराउँछ । टिका लगाइदिएपछि टोपीभित्र टाउकोमा कपालभित्र वा कानमा राख्ने जौको जमरालाई स्वास्थ्यका दृष्टिले औषधि मानिन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिन र भिटामिनहरू पाइन्छ ।
जमराको रस निकै स्वास्थ्यबर्द्धक हुन्छ । दसैँ पर्व धर्म, आस्था, विश्वास र संस्कृतिसँग जोडिएको विषय मात्र होइन, यसको वैज्ञानिक स्वास्थ्यबद्र्धक महत्वको विषय पनि रहेको पुष्टि हुन्छ । यसको धार्मिक, सामाजिक र सांस्कृतिक महिमा र महत्वलाई बुझेर निष्ठावान् तरिकाले मनाउनुपर्छ । पर्व मनाउँदा ‘घाँटी हेरि, हाड निल्ने’ नेपाली उखानलाई मनन् गरौं । अनावश्यक खर्च नगरी वास्तविक मूल्य बुझेर चाडपर्व मनाऔं ।
महिमा र महत्वलाई बुझेर व्यवहारिकरूपमा अघि बढ्न सक्नेहरूले औसत सफलता प्राप्त गर्छन् । सफलता प्राप्तिको लागि नीति र विधिको सही पालना गर्नु आवश्यक हुन्छ । अहिलेको पुँजीवादी समाजमा सोंच्ने, विचार गर्ने, कार्य गर्ने, खाने, पिउने, बोल्ने, संस्कार मान्ने आदिमा गहिरोसँग पुँजीवादले प्रभाव पारेको छ ।
हामीहरू आफ्नो संस्कृति बिर्सिन थालेका छौं । हामी पश्चिमी शैलीमा जीवन जिउँदै छौं । पुँजीवाद नयाँ–नयाँ रूप र रंगमा प्रकट हुने गरेको छ । व्यक्तिगत स्वार्थलाई त्यागेर सामाजिक त्यागको भावनालाई प्राथमिकतामा राखिनुपर्छ । समाजका लागि केही गरौं भन्ने नवीन सोंच, जोस र उर्जाका साथ समाजको चौतर्फी विकास, सामाजिक न्याय र परिवर्तनका लागि विशेष सन्देश चाडपर्वहरूले स्थापित गर्दै जानुपर्दछ ।
समाजमा विद्यमान रहेको द्वन्द्वलाई संघर्षद्वारा निरूपण गर्दै जानु द्वन्द्ववाद हो । उत्पादन र वितरण प्रणालीमा समानता नभएसम्म समाजमा द्वन्द्वको सिर्जना बाध्यकारी हुन्छ । परम्परा र संस्कारको रूपमा मनाइँदै आएको चाडपर्वहरूलाई रूपान्तरणको वैज्ञानिक विधिद्वारा बदल्दै जानसके समाज रूपान्तरणमा योगदान पुग्न सक्नेछ ।