गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालले भने– अर्थतन्त्र सुधारिँदै छ, लगानीका अवसर छोप्नुस्-Sutra News

गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालले भने– अर्थतन्त्र सुधारिँदै छ, लगानीका अवसर छोप्नुस्

सोमबार, १३ कार्तिक २०८०

सोमबार, १३ कार्तिक २०८०

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महास‍ंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रचुर अवसरहरू भएकाले लगानी बढाउन बेलायतमा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका छन् । नेपाल जनसम्पर्क समिति बेलायतले लण्डनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको जलविद्युत् र पर्यटनमा लगानीको प्रतिफल उच्च रहेकाले लगानी बढाउन आग्रह गरेका हुन् ।



सो अवसरमा उनले बेलायतस्थित गैरआवासीय नेपालीको समेत लगानीमा चन्द्रागिरि हिल्स तथा केबलकार सञ्चालनमा ल्याएको स्मरण गरे । चन्द्रागिरि हिल्स नेपालकै आकर्षक पर्यटन गन्तव्य बनेको र उच्च प्रतिफल दिएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ढकालले लगानी बढाउन हिचकिचाउनु पर्ने कारण नरहेको बताए ।

सातै प्रदेशमा चन्द्रागिरिजस्तै हिल स्टेसनसहितका केबलकार परियोजना अघि बढाएको उल्लेख गर्दै उनले आफू जन्मे–हुर्केको प्रदेशमा रहेका पर्यटकीय पूर्वाधार परियोजनामा लगानी गर्न पनि गैरआवसीय नेपालीहरूलाई आग्रह गरे । कास्कीको सिकलेस, ताप्लेजुङको पाथीभरा र कर्णाली चिसापानीको जालपादेवी केबलकार परियोजना निर्माणको चरणमा प्रवेश गर्न थालिसकेकाले लगानीको अवसर हातमै आइपुगेको पनि अध्यक्ष ढकालले स्मरण गराए ।

यसैगरी गैरआवासीय नेपालीहरूसँगको सहकार्यमा म्याग्दीमा जलविद्युत् परियोजना सम्पन्न भइसकेकोले अन्य परियोजनामा समेत लगानी बढाउन अध्यक्ष ढकालले आग्रह गरे ।

विश्वव्यापी संकटका असरले नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको, उल्लेख्य रूपमा रेमिट्यान्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैंकिङ क्षेत्रमा लगानी योग्य रकम बढिरहेकाले लगानीको वातावरण सुधार भइरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

सामाजिक सञ्जालमार्फत फैलिने नकारात्मक कुरालाई ध्यान नदिएर नेपालमा रहेका लगानी अवसरहरूलाई छोप्न पनि अध्यक्ष ढकालले आग्रह गरे । लगानी तथा प्रतिफलका हिसाबले नेपालमा अवसरै अवसरको सम्भावना भएकाले त्यसबाट फाइदा उठाउन ढिलाइ नगर्न पनि उनले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट