काठमाडौं । प्रहरीले कलाकार तथा गायकसहित नाै जनालाई जुवा खेलेको आरोपमा पक्राउ गरेको छ। गत शनिबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। शनिबार पक्राउ गरिएकाे भए पनि सार्वजनिक भने गरिएको थिएन।
प्रहरीले काठमाडौं महानगरपालिका-२९ स्थित मैतिदेवीमा रहेको नृत्य सिकाउने ठाउँ ‘डान्स फिभर’ बाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गायक चक्र बम र ‘इकु’ पात्रका रूपमा चर्चित कलाकार सुलेमान शंकर पनि छन्।
यस्तै, प्रहरीले डान्स फिभरका सञ्चालक गजित भन्ने गणेश विष्ट र उनका भाइ नरेन्द्र विष्ट (गम्भीर) पनि पक्राउ गरेकाे छ । दुवै विष्ट कला क्षेत्रकै हुन् ।
पक्राउ पर्नेमा रोशन सिंह, शंकरप्रसाद आचार्य, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी पनि छन् ।
प्रहरीले उनीहरूबाट एक लाख ९० हजार ९२० रूपैयाँ बरामद गरेको जनाएकाे छ ।