काठमाडौं । दसैँ नजिकिँदै गर्दा बजारमा देखिएको चिनीको असहजता हालसम्म पनि कायमै छ । उपभोक्ता पैसा तिरेर पनि चिनी खरिद गर्न पाइरहेका छैनन् । लामो असहजताका बीच प्रश्न उठ्न थालेको छ, बजारमा कहिलेदेखि हुन्छ चिनीको सहजता ?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला तत्कालै चिनीको सहजता हुन गाह्रो रहेको बताउँछन् । उनका अनुसार भारतले चिनी निर्यातमा लगाएको प्रतिवन्ध नखोलेसम्म चिनीको समस्या समाधान गर्न कठिन छ ।
मंगलवार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै उनले पछिल्लो समय नेपालमा चिनीको अभावको कारण विभिन्न समस्या आएको भन्दै सरकारले समस्या समाधानको लागि सक्दो प्रयास गरिरहेको बताए । दशैंका लागि चिनी उद्योग र विभिन्न उद्योगहरुमा रहेको स्टक चिनी बजारमा पठाएर गर्जो टरे पनि भारतले चिनी निर्यात प्रतिवन्ध नखोलेसम्म समस्या समाधान गर्न गाह्रो भएको उनको भनाई छ ।
उनले चिनीमा समस्या आउनुको प्रमुख कारणहरुमा तेस्रो मुलुकबाट ल्याउनुपर्ने,भारतले प्रतिवन्ध लगाउनु, आन्तरिक उत्पादनले धान्ने अवस्था नभएको, मुलुक भित्रका चिनी उद्योगहरुलाई पूर्ण रुपमा चलाउनको लागि पर्याप्त कच्चा पदार्थको कमी रहेको बताए ।
निरौलाले चिनी आयातको विद्यमान भन्सार महशुल ३० प्रतिशत, मूल्य अभिवृद्धिदर १३ प्रतिशत, कृषि शुल्क १.५ प्रतिशत हुँदा घरेलु मूल्य भन्दा नेपालमा आउँदा चिनी महँगो हुने गरेको बताए । उनले नेपालमा चिनीको वार्षिक उत्पादन एक लाख ४० हजार देखि एक लाख ५० हजार मेट्रिक टनसम्म रहेको छ भने नेपालमा चिनीको वार्षिक माग दुई लाख ८० हजारदेखि ३ लाख मेट्रिक टनसम्म रहेको बताए ।
उनले पछिल्लो समय नेपालमा चिनीको आयात पनि घट्दो क्रममा रहेको भन्दै चालु आर्थिक वर्षमा भारतले चीनी निर्यातमा प्रतिवन्ध लगाएको कारण शुन्य परिणाम रहेको बताए ।