नेपालको ऊर्जा र पर्यटन पूर्वाधारमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह-Sutra News

नेपालको ऊर्जा र पर्यटन पूर्वाधारमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

बुधबार, १५ कार्तिक २०८०

बुधबार, १५ कार्तिक २०८०

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।



बेलायतमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकाले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपालमा आकर्षक लगानीको अवसर रहेको उनको भनाइ थियो ।

नेपालबाट आयात हुने जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयलाई उल्लेख गर्दै अध्यक्ष ढकालले बढ्दो भारतीय बजारले जलविद्युत आयोजनामा लगानीको थप अवसर आएको तर्फ ध्यानाकर्षण गराए ।

बङ्गलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जाको माग बढ्दा नेपालको जलविद्युत्‌का लागि थप बजार सृजना भएको पनि अध्यक्ष ढकालले बताए ।

यसै गरी नेपाल बेलायती पर्यटकका लागि पहिलेदेखि नै लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न तयार र उत्साहित रहेको बताए ।

काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भएको तथा भगवान बुद्धको जन्मस्थल लुम्बिनी र प्रसिद्ध पर्यटकीय गन्तव्य पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकाले पर्यटकहरूलाई नेपाल घुम्न थप सहज हुने उनको विश्वास छ ।

बेलायतस्थित नेपाली राजदूतावासको पहलमा आयोजित लगानी सम्मेलनमा, नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महतसहित बेलायतको अन्तर्राष्ट्रिय लगानी निकायका उच्च अधिकारीहरू तथा बेलायती निजी लगानीकर्ताहरूले लगानीका अवसरहरूबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट