स्वर्णकारको हत्यामा पूर्वप्रेमीका नै मुख्य योजनाकार, विवाहेत्तर सम्बन्ध कारण-Sutra News

स्वर्णकारको हत्यामा पूर्वप्रेमीका नै मुख्य योजनाकार, विवाहेत्तर सम्बन्ध कारण

बुधबार, १५ कार्तिक २०८०

बुधबार, १५ कार्तिक २०८०

काठमाडौं । प्रहरीले बाराको कलैयास्थित बाल एकता अंग्रेजी बोर्डिङ्ग स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकार ‘गड्डु’को हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्याका मुख्य योजनाकारसहित पाँच जनालाई सार्वजनिक गरेको हो ।



स्वर्णकारको हत्यामा सोही विद्यालयकी पूर्व शिक्षिका राधा गुप्ता नाम गरेकी युवती मुख्य योजनाकार रहेको प्रहरीको निष्कर्ष छ । प्रहरीले हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबी रहेको पाइएको जनाएको छ ।

मुख्य योजनाकारको रुपमा देखिएकी गुप्ता प्रिन्सिपलसँग प्रेम सम्बन्धमा रहेको पाइएकाे प्रहरीले जनाएकाे छ । सँगै गुप्ताले भारतीय नागरिक मनोज गुप्तासँग सम्बन्ध राखेकाे देखिएको प्रहरीकाे भनाई छ । गुप्ताले सम्बन्ध गाँसेका दुवै व्यक्ति विवाहित भएको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धको विषयलाई लिएर रुपेश, मनोज र राधाका बीचमा बेला–बेलामा विवाद भइरहेको पनि पाइएको प्रहरीले जनाएको छ । हत्यासम्मको कारण दोहोरो सम्बन्ध पनि देखिएको प्रहरीको भनाई छ ।

प्रहरीले राधासँगै रुपेशकै विद्यालयमा कार्यरत वरिष्ठ लेखापालको भूमिकामा रहेका जामिल अख्तर र कलैया–९ का रियाज अन्सारीलाई पनि हत्यामा संलग्न रहेको बताएकाे छ । जामिल र अन्सारीले हत्या गराउन सहयोगी भूमिका खेलेको प्रहरीकाे निष्कर्ष छ ।

यस्तै, प्रहरीले हत्या घटनामा भारत मोतिहारीका अभिनवकुमार राजपुत र चन्दकुमारलाई पनि सार्वजनिक गरेको छ । उनीहरुले पनि हत्या गर्नमा सहयोगी भूमिका खेलेको बताइएकाे छ ।

रुपेशलाई गोली प्रहार गर्ने चार जना भने हालसम्म पनि फरार छन् । गोली प्रहार गरी फरार हुनेमा भारत मोतिहारीका सजितकुमार सिंह, चन्चल पाण्डे, मनिषकुमार सहनी र कामेश्वर सहनी रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए । टाउको र छातीमा गोली लागेर घाइते भएका उनको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट