‘जनयुद्ध दिवस’लाई लिएर सदनमा एमाले र माओवादीबीच घोचपेच-Sutra News

‘जनयुद्ध दिवस’लाई लिएर सदनमा एमाले र माओवादीबीच घोचपेच

बिहिबार, १६ कार्तिक २०८०

बिहिबार, १६ कार्तिक २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘जनयुद्ध दिवस’लाई सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बीच घोचपेच भएको छ ।



फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउँदै बिदा दिने निर्णय फिर्ता हुनुपर्ने एमालेले माग राखेको छ । उक्त दिन बिदा दिने नै हो भने संसदबाट पारित गर्न एमालेले माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले हिंसाको बाटो बेठिक भन्दै संसदीय प्रक्रियामा आउँदा पनि हिंसा सुरु भएको दिनलाई दिवस मनाउने कुरा स्वीकार गर्न नसकिने बताए । उनले उक्त निर्णय सदनमा परीक्षण गर्न पनि सरकारलाई चुनौति दिए ।

“यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस्”, उनले भने, “त्यसको परीक्षण गर्न सरकार तयार छ ? सरकार यो गलत निर्णयबाट पछाडि हटोस्, यदि पछाडि हट्न चाहँदैन भने सदनमा ल्याओस् ।”

सदनमा एमाले उपाध्यक्ष पौडेलले जनयुद्ध दिवस खारेज हुनुपर्ने बताएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले उनको भनाईको प्रतिवाद गरेका छन् । उनले जनयुद्ध दिवस मनाउने निर्णय एमालेसहितको सरकारले गरेको भन्दै पौडेललाई मिति सम्झाएका छन् ।

“जनयुद्ध दिवसको बारेमा म स्मरण गराउन चाहन्छु (माघ १९ गते त्यो निर्णय भएको रहेछ, उहाँ (विष्णु पौडेल) उपप्रधानमन्त्री हुनुहुँदो रहेछ, त्यही मन्त्रिपरिषदले निर्णय गरेको रहेछ’ पौडेललाई पुनले जवाफ फर्काएका छन् ।

एमाले–माओवादी गठबन्धनको सरकार हुँदा एमालेकै समर्थनमा मन्त्रिपरिषद् बैठकले ‘जनयुद्ध दिवस’ र ‘पृथ्वी जयन्ती’लाई क्यालेन्डरमा राख्ने निर्णय गरेको थियो । सरकारले २०७९ फागुन ४ मा उक्त निर्णय सार्वजनिक गरेको थियो ।

तत्कालिन समय जनयुद्ध दिवस मनाउन स्वीकृति दिएको एमालेले दिवस मनाइसकेपछि मुख खोलेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन गठबन्धन भत्किने अवस्थामा फागुन ११ गते एक कार्यक्रमका बीच जनयुद्ध दिवस मनाउने निर्णय गलत भएको भन्दै आलोचना गरेका थिए । एमालेको फेरिएको शैलीप्रति तत्कालिन मुख्य प्रतिपक्षी तथा हालको सत्तापक्ष कांग्रेसले भने विरोध गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट