

काठमाडौं । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदमा भर्ना आह्वान गरेको छ । सेनाले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको हो ।
योग्यता पुगेकाहरुले नेपाली सेनाको वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जंगी अड्डाले जारी गरेको सूचनामा जनाइएको छ।
अधिकृत क्याडेट पदका लागि सैनिक साधारण सेवातर्फ २२९ जनाको भर्ना खुलेको छ। यस भित्र खुलामा १२२ जनाको कोटा छ।
यसैगरी सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दागर्दै कुनै शारीरिक चोटपकट लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई १२ जनाको कोटा छुट्याइएको छ। समावेशीतर्फ महिला १७, आदिवासी जनजाति ३३, मधेशी २७, दलित १५ र पिछडिएको क्षेत्रमा ३ जनाको कोटा छ।
अधिकृत क्याडेट पदका लागि दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने जनाइएको छ। अधिकृत क्याडेट वा स्नातक अधिकृत क्याडेट दुवैका लागि एसएलसी वा एसईई परीक्षामा अनिवार्य गणित विषय लिएको हुनुपर्ने जंगी अड्डाको सूचनामा जनाइएको छ।