छात्रामाथि सामूहिक बलात्कार घटना : राखेपका दुई स्थायी प्रशिक्षक दोषी ठहर-Sutra News

छात्रामाथि सामूहिक बलात्कार घटना : राखेपका दुई स्थायी प्रशिक्षक दोषी ठहर

शुक्रबार, १७ कार्तिक २०८०

शुक्रबार, १७ कार्तिक २०८०

काठमाडौं । छात्रामाथि सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो।



जबरजस्ती करणी मुद्दा चलाइएका दुवै जनालाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको थियो। दुवै जना ६ भदौ २०७९ देखि पूर्पक्षका लागि थुनामा थिए ।

करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर भएपनि कैद सजाय निर्धारण भने कात्तिक २२ गतेको इजलासले गर्ने अदालतका सूचना अधिकारी ओम सुवेदीले बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक उनीहरुले विराट हेल्थ कलेजमा अध्ययनरत एक छात्रालाई विराटनगरस्थित एउटा होटलमा लगेर सामूहिक करणी गरेका थिए । सुरज विराट हेल्थ कलेजमा डिसिप्लेन इन्चार्ज पनि थिए ।

परीक्षामा सहयोग गर्ने बहानामा छात्रासँग नजिकिएका सुवेदीले पटक–पटक करणी गरेका थिए । सुवेदीले २०७९ जेठ अन्तिम साता छात्रालाई इच्छा विपरीत होटलमा लगेर आफ्ना नजिकका साथी राउतलाई पनि बोलाएका थिए ।

सामूहिक करणी गरेपछि किशोरीले आफूमाथि पटक–पटक करणी गरेको दाबीसहित प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी दिएपछि सुवेदी र राउतलाई प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर घटनाको अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट