काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएकाे छ ।
नेपालका लागि गुलशन झाले सर्वाधिक ५४ रन बनाए। यस्तै, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभर खेल्दा महत्वपूर्ण ४ विकेट गुमाएको थियो। चौथो विकेटका रुपमा नेपालका कुशल मल्ल मात्र ३ रन बनाएर आउट भएका थिए।
नेपालले तेस्रो विकेटका रुपमा ओपनिङ ब्याटर कुशल भुर्तेललाई गुमाएको थियो। २२ बलको सामना गरेका भुर्तेलले ३१ रन बनाए। जसक्रममा उनले २ छक्का र ३ चौका प्रहार गरे।
नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो। आसिफ ६ बलमा ६ रन बनाएर पेभेलियन फर्किएका थिए।
दोस्रो विकेटका रुपमा सन्दीप जोरा १० रन बनाएर आउट भए। १३ बलको सामना गरेका जोराले १ चौका प्रहार गरे। नेपालविरुद्ध ओमानका बिलाल खानले ३ विकेट लिए। अकिब इलियासले २ तथा जिशान मकसूद १ विकेट लिए।