काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै छ। तिहारको अवसरमा केन्द्रीय बैंकले सुनचाँदीको असर्फी, मेडालियन, सिक्का बिक्री शुरु गरेको हो ।
सर्वसाधारणलाई २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गरिने जनाएको छ।
एक जनाले सुनको असर्फी बढीमा एक सेट पाउने छन्। जसमा कुल साढे १७ ग्रामको असर्फी सर्वसाधारणले खरिद गर्न पाउने छन्।
यसैगरी गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गर्न पाउने छन्।
मूल्य कति ?
केन्द्रीय बैंकका अनुसार १० ग्राम सुनको सिक्काको बजार मूल्य १ लाख २ हजार ३६५ रुपैयाँ तोकिएको छ भने ५ ग्राम र २.५ ग्राम सुनको सिक्काको क्रमशः ५१ हजार ३८३ रुपैयाँ र २५ हजार ५९२ रुपैयाँ तोकिएको छ ।
यस्तै, यता चाँदीको सिक्काको २५ ग्रामको ४ हजार रुपैयाँ र १० ग्रामको एक हजार ६ सय रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जनाएको छ ।