काठमाडौं । कोशी प्रदेशमा एकपछि अर्को गर्दै नाटकीय दृश्यहरु देखिए । गठबन्धनविरुद्ध कांग्रेस इतर पक्षको विद्रोह, एमालेको समर्थनमा इतर पक्षको नेतृत्वमा सरकार गठन, गठबन्धनका सबै दलबाट विश्वासको मत अनि फेरि सरकारबाट नै एमाले बाहिर ! यी घटनाले कोशीमा फेरि के हुन्छ ? अन्योल बनाएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएदेखि नै केदार कार्की एमालेलाई च्याप्ने कि गठबन्धनलाई ? भन्ने लामो दुविधामा थिए । जुन दुविधाको बीचमा शुक्रबार उनले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेत सरकारमा समेटे । जुन निर्णयमा एमालेको तिव्र अहसमति बन्यो ।
आफ्नो अडान विपरित सरकार विस्तार भएसँगै एमालेले शनिबार आफ्ना मन्त्रीलाई फिर्ता बोलायो । जुन घटनासँगै कोशीमा अर्को राजनीतिक अवस्थाको सिर्जना भयो । तथापि, यी घटनाको बीच मुख्यमन्त्री कार्कीले सबैलाई समेटेर सरकार बनाउने बताइरहेका छन् ।
“म एमालेलाई आग्रह गर्न चाहन्छु– तपाईंहरुकै सहयोगमा मुख्यमन्त्री बनेँ, मध्यावधि रोक्न तपाईंहरुले गर्नुभएको उदाहरणीय कार्यलाई बिर्सिन सक्दिनँ”, एमाले सरकारबाट बाहिरिएपछि कार्कीले पत्रकार भेटघाट गर्दै भनेका छन्, “हामी सबै दल सँगै जाऔँ, प्रदेशको हितमा काम गरौँ ।”
तथापी, एमालेभित्र कार्कीबाट ‘धोका’ भएको विश्लेषण गरिएको छ । एमालेका नेताहरुले संघमा जस्तै प्रदेशमा पनि धोका पाएको बताएका छन् । एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी कार्कीबाट सहमति उल्लंघन भएको बताउँछन् । “कोशीमा समाप्त भएको कोर्स पुनः ब्युँत्याउन खोजियो, मुख्यमन्त्रीज्यूले हामीले राखेको अडान विपरित निर्णय लिनुभयो, हामीलाई धोका भयो”, उनले भनेका छन् ।
संघकै घटना प्रदेशमा
कोशीमा देखिएको घटना नेपाली राजनीतिमा नयाँ भने होइन । यसअघि संघमा पनि कोशीकै शैलीमा एमालेको बहिर्गमन भएको थियो ।
को पहिला प्रधानमन्त्री ? भन्ने विषयमा सहमति नजुटेपछि २०७९ पुस १० मा कांग्रेस–माओवादी गठबन्धन भत्कियो । लगत्तै एमालेको साथ लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा दाबी पेश गरे । उनी सोही दिन प्रधानमन्त्रीमा नियुक्त भए ।
एमालेसहितका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ मा संसदबाट विश्वासको मत लिए । जहाँ उनलाई कांग्रेसलगायतका पूर्व गठबन्धनका दलहरुले पनि मत दिए ।
विश्वासको मत पाएपछि फेरि घटनाहरु नाटकीय ढंगले विकास भए । सभामुखको निर्वाचनमा एमालेलाई सघाएको माओवादीले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई सघायो । राष्ट्रपतिको निर्वाचनपछि एमाले–माओवादी गठबन्धन भत्कियो र कांग्रेस–माओवादी गठबन्धन पुनः ब्यूँतियो ।
२०७९ फागुन १५ मा एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो भने चैत १७ मा कांग्रेसलगायतका दलहरु भित्रिएका थिए । एमाले र कांग्रेस बाहिरिने–भित्रिने भइरहँदा प्रचण्ड भने प्रधानमन्त्री रहिरहे ।
संघमा प्रचण्ड सरकारमा देखिएको शैली कोशीमा पनि हुबहु देखिएको छ । संघमा जस्तै कोशीमा पनि एमालेमाथि सोही शैलीमै व्यवहार भएको छ ।
कोइराला समूहप्रति विश्वासको संकट
कोशीमा एमालेको वैशाखी पाएर डा. शेखर कोइराला समूहले कांग्रेस र गठबन्धनसँग विद्रोह गर्दै आफ्नो नेतृत्वमा सरकार बनायो । जुन घटनासँगै कांग्रेसभित्र र गठबन्धनका अन्य दलसँग पनि कोइराला समूहप्रति विश्वासको वातावरण गुम्यो ।
स्वयम् कांग्रेस महामन्त्री गगन थापाले पनि कोइरालाको शैलीप्रति निकै कटाक्ष गरेका थिए । कोशी घटनापछि थापा र कोइरालाबीच बोलचालसमेत करिब औपचारिक मात्रै बनेको थियो । कोइरालाले कांग्रेस र गठबन्धनभित्र अविश्वासको बीउ रोप्दै एमालेसँग सम्बन्ध बढाएका थिए ।
तर, सहमति बेगर सरकार विस्तार गर्ने कदम चालेपछि कोइराला समूहप्रति एमालेबाट पनि विश्वास गर्ने अवस्था सकिएको छ । विशेषतः पार्टीभित्र ‘फेस सेभिङ्ग’का निम्ति कोइरालाले छाडेको अडानले एमालेसँगको दुरी निकै नै बढाएको छ । जसले कोइरालालाई अवसरवादी मात्रै होइन अविश्वासिलो नेताका रुपमा पनि चिनाएको छ ।
राजनीतिक विश्लेषक मुकुन्द आचार्य कोइरालाको फेरिएको अडानले उनलाई अविश्वासिलो नेताको रुपमा परिचित बनाएको बताउँछन् । “कोशीको घटनालाई हेर्दा उनी कतैबाट पनि विश्वास गर्न नसकिने जस्ता बने, उनका कदम उनैका निम्ति घातक देखिन्छन्”, उनले भनेका छन्, “एमालेलाई विश्वास राख्दै अन्य दलसँग सहकार्य खोज्नु कोशीमा सही हुन्थ्यो त्यो गर्न चुके ।”