भूकम्पले चोचे टोलका घरहरू मात्रै लगेन १४ जनाको ज्यान पनि लग्याे-Sutra News

भूकम्पले चोचे टोलका घरहरू मात्रै लगेन १४ जनाको ज्यान पनि लग्याे

आइतबार, १९ कार्तिक २०८०

आइतबार, १९ कार्तिक २०८०

भेरीगङ्गा । जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय ८६ घरधुरी रहेकामा अधिकांश घर पूर्णरुपमा र केही घर आशिंक रुपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका हुन् ।



खलङ्गाबाट डेढघण्टाको दूरीमा रहेको यो गाउँका बाँकी रहेका अन्य घर पनि बस्न नमिल्ने गरी चिराचिरा परेका छन् । स्थानीय अविलाल विक भूकम्पले ‘स्वाहा’ बनाएकाे बताए ।

“हाम्रो यो गाउँमा अधिकांश दलित समुदाय बस्दै आएका थियौँ, वर्षामा समेत पहिरोले जोखिम पारेको हाम्रो टोललाई अस्ति आएको भूकम्पले स्वाहा नै बनायो”, उनले भनेका छन् ।

अहिले यो टोलका अधिकांश व्यक्ति घरबारविहीन भएको उनले भने । “हामी घरबारविहीन भयौँ आफन्त गुमायौँ, खानेकुरा घरमै पुरियो, लाउने कपडा पनि पुरियो, अस्तिदेखि भोकभोकै छौँ, केटाकेटी चिसोले हैरान भइसके”, उनले भने ।

उनी जस्तै चोचे गाउँका सबै व्यक्तिको पीडा त्यस्तै छ । उनीहरुले अब आफन्त गुमाए पनि बाँचेकाको लागि गाँस र बाँसको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।

यो टोलमा भूकम्पमा परी १४ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

मृत्यु हुनेमा पाँच बालबालिका, सात २० वर्ष माथिका र अन्य दुईजना ज्येष्ठ नागरिक रहेको प्रहरीले बताएको छ । १३ जनाको भूकम्पमा परी घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो ।

मृत्यु भएका अधिकांश व्यक्ति भारतमा रोजगारीका लागि गएर फर्किएका थिए । उनीहरु तिहार मनाउन घर फर्किएकामा तिहार मनाउन नपाउँदै मृत्यु भयो ।

स्थानीयवासी हीरा चंदाराको भदै तिहार मनाउन भारतबाट घर आएकी थिइन् । चाडबाडमा रमाइलो मनाउन गाउँ फर्किएकी उनकाे भूकम्पमा परी मृत्यु भयो ।

त्यसैगरी अन्य व्यक्ति पनि चाडबाडका लागि भारतबाट घर आएका थिए तर, भूकम्पका कारण गाउँका सबैजनाको खुसी र हाँसो आँशुमा परिणत भएको छ ।

केही घरका त परिवारका सबै सदस्यको मृत्यु भएको छ । भिउसन कुमाइँको चार जनाको परिवारको भूकम्पमा परेर मृत्यु भएको छ । भकम्पमा परेर मृत्यु भएका यो गाउँका १३ जनाको दाहासंस्कार हुनसमेत ढिलाइ भएको थियो । उनीहरुलाई निकाल्न नै समय लागेकाले दाहासंस्कार आज गरिएको हो ।

यो गाउँका पीडितलाई राहात र पुनःस्थापनाका लागि कुनै कसर बाँकी नराख्ने कर्णाली प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट