इजरायली आक्रमणबाट गाजामा मारिए ९ हजार ७७० प्यालेस्टाइनी-Sutra News

इजरायली आक्रमणबाट गाजामा मारिए ९ हजार ७७० प्यालेस्टाइनी

सोमबार, २० कार्तिक २०८०

सोमबार, २० कार्तिक २०८०
फाइल तस्बिर

काठमाडाैं । इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म ९ हजार ७७० प्यालेस्टाइनी नागरिकहरूको मृत्यु भएको छ। बिबिसीका अनुसार इजरायल-हमास युद्धकाे २९ औं दिनमा पुग्दा गाजामा साढे ९ हजारभन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको हो।



मृत्यु हुनेमा ४ हजार भन्दा बढी बालबालिका रहेको पनि बिबिसीले उल्लेख गरेको छ । अक्टोबर ७ (असोज २०) मा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमा आक्रमण गर्दा त्यहाँ १ हजार ४ सय मानिसहरूको मृत्यु भएको थियो।

हमासले इजरायलबाट २४० जनालाई बन्धक पनि बनाएको थियो। प्रतिआक्रमणमा उत्रिएको इजरायलले गजाबाट हमास सक्काउने योजनासहित हवाई हमलासँगै जमिन र समूद्रबाट पनि आक्रमण गरिरहेको छ।

इजरायलले शरणार्थी शिविर र अस्पातालहरूमा हमासका लडाकुहरू लुकेर बसेको दाबी गरेको छ। उसले आइतबार गजापट्टीको अल-मगाजी शरणार्थी शिविरमा आक्रमण गर्दा त्यहाँ ३० जनाभन्दा बढीको मृत्यु भएको हमास शासित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

गत मंगलबार र बुधबार इसराइलले गजाको बाक्लो आवादी भएको जबालिया शरणार्थी शिविरमा हवाई आक्रमण गरेको थियो। उसले हमासका युनिट कमान्डरलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेपनि त्यहाँ दर्जनौं नागरिकहरू मारिएका थिए।

इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले उक्त आक्रमणमा हमासका युनिट कमान्डरहरू इब्राहिम बियारी र मुहम्मद एसार मारिएको दाबी गरेको थियो। गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आह्वानलाई इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अस्वीकार गर्दै आतंकवादविरूद्ध आत्मसमर्पण नगर्ने बताएका थिए।

लगातारको आक्रमणबाट गाजामा हमासका २ हजार ५ सय भन्दा बढी क्याम्प ध्वस्त बनाएको आइडिएफको दाबी छ। उसले उत्तरी गजाबाट नागरिहरूलाई दक्षिणमा सार्न समेत चेतावनी दिइरहेको छ।

यसबीच मध्यपूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्यालेस्टाइनी प्रशासनका प्रमुख मोहमुद अब्बाससँग भेटवार्ता गरेका छन्। भेटमा अब्बासले गजामा युद्धविराम हुनुपर्नेमा जोड दिएका छन्।

ब्लिन्केनले भने गजामा आम नागरिकहरूको मृत्यु हुने अवस्थालाई रोक्नुपर्ने बताएका छन्। उनले अक्टोबर ७ पछि इजराइललाई आत्मरक्षाको अधिकार रहेको पनि बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट