काठमाडौं । शनिबार अन्नलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि., हाँडीगाउँ, काठमाडौंको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
धुम्बाराही, काठमाडौं स्थित धुम्रबराह भेन्युमा आयोजना गरिएको सो साधारण सभामा संस्थाको संचालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित भएको छ भने लेखा समितिको प्रतिवेदन हुँदै आ.व. २०७९/०८० को नाफा/नोक्सान हिसाब, आ.व. २०८० आषाढ मसान्त सम्मको वासलात समेत पारित भएको छ ।
आ.व. २०८०/०८१ को संस्थाको नीति तथा कार्यक्रमको साथै चालु आ.व. को लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्धलगायत विविध विषयहरु साधारण सभाले पारित गरेको छ ।
चालु आ.व. मा संस्थाको वासलात हिसावबमोजिम शेयर पुँजी २ करोड ७ लाख २६ हजार रुपैयाँको भएको छ भने जगेडाकोष ३२ लाख ८३ हजार ८ सय ९१ रुपैयाँ ८३ पैसाको भएको छ ।
निक्षेप दायित्व ६ करोड ६५ लाख ४२ हजार ५ सय ८ रुपैयाँ ७५ पैसाको भएको सो सहकारीको अन्य विविध कारोवार हुँदै चालु आ.व.मा जम्मा कारोवार ९ करोड ४७ लाख ६६ हजार ३ सय ४० रुपैयाँ १२ पैसाको भएको छ । साधारण सभा संस्थाका अध्यक्ष अमर पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।