काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले सस्तिएको हो ।
महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला एक लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख १४ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
दसैँ आउँदै गर्दा महँगिएको सुन दसैँ गएसँगै सस्तिन थालेको थियो । पछिल्लो साता मात्रै सुन ११ सय रुपैयाँले सस्तिएको महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।