काठमाडौं । उकालो लागेर ऋणको झण्डै १५ प्रतिशत पुग्न लागेको बैंकिङ ब्याजदर पछिल्लो समयमा निरन्तर ओरालोमा छ । लामो समय नेपाल बैंकर्स संघले निर्धारण गरेको ब्याजदर बैंकहरुले नै स्वतन्त्र रुपमा निर्धारण गर्न लागेपछि प्रतिस्पर्धात्मक रुपमा घट्न थालेको देखिन्छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर थप घट्दै जाने बताएका छन् । बैंकर्स संघको आयोजनामा सोमबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले बैंकको ब्याजदर क्रमशः घट्दै जाने बताएका हुन् ।
केसीले बैंकहरुको खराब कर्जा बढेका कारण पहिलो त्रैमासमा १६ अर्ब रुपैयाँ प्रोभिजन गर्नु परेको बताए । जबकी गत वर्षको सोही अवधिमा बैंकहरुले सात अर्ब रुपैयाँ मात्रै प्रोभिजन गरेका थिए । विश्वव्यापी रुपमा बढेको उच्च ब्याजदरका कारण १३ बैंकको नाफा घटेको उनको भनाइ छ ।
केसीका अनुसार निजी क्षेत्रको व्यापार व्यवसाय सुस्ताएका कारण त्यसको प्रभाव स्वतः बैंकहरुमा परेको हो । लामो समयसम्म तरलता अभावको समस्या खेपेको नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समयमा निक्षेप संकलन हुने क्रम पनि बढेको छ ।
अध्यक्ष केसीका अनुसार पछिल्लो समय बैंकहरुले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन बढाएर ८४ अर्ब रुपैयाँ कर्जा बढाएका छन् ।
हिमालयन बैंकका सीईओ अशोक राणाले पनि अबको दिनमा बैंकको ब्याजदर घट्दै जाने बताए । राष्ट्र बैंकको नीतिले ब्याजदरमा प्रभाव पारेको उनको भनाइ छ । ‘अब ब्याजदर घट्ने देखिन्छ, राष्ट्र बैंकको नीतिले ब्याजदरमा प्रभाव परिरहेको छ, तल जान सक्छ माथि जाने सम्भावना छैन’, उनले भने ।
असोजमा वाणिज्य बैंकहरुको आधार दर ९.९४ प्रतिशत छ र पछिल्लो तीन महिनाको औसत आधार दर १०.०९ प्रतिशतमा झरेको छ । प्रिमियममा सीमा लागूका साथै स्प्रेड दर अझै घट्ने भएकाले ब्याजदर तल आउने बैंकरहरुको बुझाइ छ ।