टी–२० विश्वकपमा छनोट भएका खेलाडीलाई राखेपले जनही १३ लाख दिने-Sutra News

टी–२० विश्वकपमा छनोट भएका खेलाडीलाई राखेपले जनही १३ लाख दिने

मंगलबार, २१ कार्तिक २०८०

मंगलबार, २१ कार्तिक २०८०

काठमाडाैं । अमेरिका र वेस्ट इन्डिजले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक एवं सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा मंगलवार बसेको बैठकले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।



यद्दपी, मन्त्रिपरिषद्ले भने निर्णय गरिसकेको छैन । राष्ट्रिय खेलकुद परिषदले सरकारलाई १३ लाख रुपैयाँको दरले पुरस्कार दिन सिफारिस गरेको हो । परिषद्को पुरस्कारसम्वन्धी कार्यविधिमा नै नेपाल विश्वकपमा छनोट भएको खण्डमा खेलाडीलाई १३ लाख रुपैयाँ दिने उल्लेख छ । त्यसैबमोजिम परिषद्का सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले निर्णय गरेर सरकारलाई सिफारिस गरेको हो ।

टोलीमा समावेश १५ जना खेलाडीलाई जनही १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरिएको हो ।

यही कात्तिक १७ गते काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको आइैसीसी पुरुष टी–२० विश्वकपको एसिया क्षेत्र छनोट सेमिफाइन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ८ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट