काठमाडौं । तिहार नजिकिँदै गर्दा नेपाली बजारमा सुनको मूल्य घट्न थालेको छ । पछिल्लो दुई दिनमा मात्रै सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबार प्रतितोला एक लाख १५ हजार रुपैयाँ रहेको सुनको मूल्य बिहीबार आउँदा एक लाख १३ हजार सात सय रुपैयाँमा झरेको छ ।
महासंघका अनुसार सुनको भाउ निरन्तर ओरालोमा छ । दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन प्रतितोला एक लाख १७ हजार पुगेको सुनको मूल्य त्यसयता भने निरन्तर घटिरहेकाे छ ।
महासंघले जनाएअनुसार दसैंयता मात्रै सुनको मूल्यमा तीन हजार तीन सय रुपैयाँले गिरावट आएको छ ।
महासंघका अनुसार पछिल्लो मूल्य दसैँअघि कात्तिक २ गतेका दिन थियाे । त्यसयता भने बजारमा सुनको मूल्य निरन्तर उकालोमा थियो ।
सुनको मूल्य सस्तिरहँदा बजारमा चाँदीको मूल्य पनि सस्तिन थालेको छ । महासंघले जनाएअनुसार पछिल्लो तीन दिनमा मात्रै चाँदीको मूल्यमा प्रतितोला २५ रुपैयाँले सस्तिएको छ ।
बिहीबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ रहेको महासंघले जनाएको छ ।