काठमाडाैं । नायिका एवम् मोडेल दिपाशा बिसीको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा बिहीवार दिउँसाे उपचारका क्रममा उनकाे निधन भएकाे हाे ।
स्वास्थ्यमा असहज भएपछि बिसीलाई बुधवार राति अस्पताल पुर्याइएकाे थियाे । अस्पतालले उनलाई बिहीबार दिउँसो मृत घोषणा गरेको हो । उनको मृत्युको कारण भने खुलिसकेको छैन ।
उनको निधनको खबरले सिने तथा कला क्षेत्र स्तब्ध बनेको छ ।
बिसीको २८ वर्षको उमेरमा निधन भएको हो । उनको जन्म वि.सं २०५२ सालमा सुर्खेतमा भएको थियो । तर, उनले लामो समयदेखि काठमाडौंमा रहेर कलाकारिता गरिरहेकी थिइन् ।
बिसीले केही नेपाली फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । विशेषगरी, उनले लोकगीतका म्युजिक भिडियोमा धेरै अभिनय गरेकी छिन् ।
‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले दुईसय भन्दा बढी लोक एवम् आधुनिक गीतमा मोडलिङ गरिसकेकी छिन् भने बिरानो माया, चाल, दुलही रानी र झेली गरी आधा दर्जन बढी चलचित्रमा अभिनय गरेकी छिन् ।
उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।