

काठमाडौं । जन्ममिति विवादमा फसेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। पाण्डेले दिएकाे राजीनामा स्वीकृत गर्दै शुक्रबार सेनाको मुख्यालयले यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएकाे छ । विवादमा फसेका पाण्डेले बिहीबार साँझ प्रधान सेनापति प्रभुराम शर्मालाई राजीनामा बुझाएका थिए ।
रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिनसमेत सुरू भएको थियो।
पाण्डे आगामी प्रधान सेनापतिको रोलक्रममा थिए । प्रधान सेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिएलगत्तै पाण्डे प्रधान सेनापतिको रोलक्रममा थिए।
पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर झण्डै दुई वर्ष उमेर घटाएको पाइएकाे थियाे । परीक्षा नियन्त्रण कार्यालय र सैनिक मुख्यालयमा बुझाएकाे कागजातमा उनको जन्ममिति २०२१ र २०२३ साल उल्लेख छ।
जन्ममितिबारे बेग्ला-बेग्लै विवरण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।
चार दिनअघि मात्रै पाण्डेको उमेर विवादमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको थियो । आयोगले उजुरीमाथि छानबिनका लागि सघाउन रक्षा मन्त्रालयलाई पत्राचार गरेकाे थियाे ।
रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै पनि बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । मुख्यालयले उपरथीसहित तीन सदस्यीय छानबिन समिति गठन गरेकाे थियाे । गठित समितिले तीन दिनदेखि काम गरिरहेको थियाे ।
उपरथी पाण्डे बढुवा नभएको अवस्थामा मंसिरको दोस्रो साता स्वतः अवकाशमा जान्थे । तर, उनकाे राजनीनामा दिएपछि उनको स्थानमा अर्का उपरथी अशोक सिग्देललाई बढुवाको बाटो खुलेको छ ।