कोशीमा एमालेलाई अनौठो बाध्यता : सरकारमा जान नपाउने, समर्थन कायमै राख्नुपर्ने-Sutra News

कोशीमा एमालेलाई अनौठो बाध्यता : सरकारमा जान नपाउने, समर्थन कायमै राख्नुपर्ने

आइतबार, २६ कार्तिक २०८०

आइतबार, २६ कार्तिक २०८०

काठमाडौं । एमाले बाहिरिएपछि कोशी प्रदेशमा सत्ता गठबन्धनले मन्त्रालयको भागवण्डा टुंग्याएको छ । शनिबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले भागवण्डामा सहमति जुटाएको हो ।



नेताहरुले बताएअनुसार मुख्यमन्त्रीसहित कांग्रेसले चार, माओवादी केन्द्रले तीन र जसपा र एकीकृत समाजवादीले एक÷एक मन्त्रालय पाउने सहमति बनेको छ ।

हाल कोशीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एक÷एक मन्त्री छन् । शनिबार बनेको सहमतिअनुसार तिहारलगत्तै मन्त्रिपरिषद् विस्तार हुनेछ । जुन सहमतिसँगै एमाले भने विधिवतरुपमै सत्ता बाहिर पुगेको छ ।

आफैंले बनाएको सरकार आफ्नै रहेन

कोशी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल हो । ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग एक्लै ४० प्रदेशसभा सदस्य छन् । तर, आफ्नो नेतृत्वमा बहुमत जुटाउने कसरतमा भने एमाले सधैँ असफल बन्यो । जसको परिणाम कांग्रेसको इतर पक्षलाई अघि सार्दै सरकार निर्माणको प्रक्रियामा एमाले सहभागि भयो ।

कांग्रेसको इतर पक्षका केदार कार्की, एमालेको सहयोगमा गत असोज २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमालेको ३९ र आफू पक्षीय आठ सांसदको समर्थनमा उनको पक्षमा बहुमत जुटेको थियो ।

तर, आफ्नै सहयोगमा बनेको कार्की नेतृत्वको सरकार अन्ततः एमालेको भने रहेन । प्रदेशसभाबाट विश्वासको मत पाएसँगै कार्की गठबन्धनतर्फ नै फर्किए । कात्तिक ४ मा विश्वासको मत पाएका कार्कीले एमालेको सहमति बेगर कात्तिक १७ मा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा समेटे । जुन कदमलगत्तै कात्तिक १८ एमाले सरकारबाट बाहिरिएको थियो ।

एमाले सरकारबाट बाहिरिएको डेढ सातापछि सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागवण्डामा सहमति खोजिएको हो ।

बाध्यकारीरुपमा सरकारलाई समर्थन

सरकारबाट बाहिरिए पनि एमालेले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । सरकारबाट बाहिरिएको पर्सीपल्ट कात्तिक २० मा बसेको एमालेको प्रदेश संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय लिएको थियो ।

एमालेले समर्थन फिर्ता लिएलगत्तै कोशीमा कार्कीले पुनः विश्वासको मत लिनुपर्छ । यदि विश्वासको मत पाउने अवस्था नरहेमा प्रदेश मध्यावधी निर्वाचनतर्फ जानेछ । यस्तोमा निर्वाचनमा जाने पक्षमा एमाले देखिएको छैन । जसको कारण एमालेले समर्थन कायमै रहेको हो । सँगै समर्थन कायमै राखेर सरकारलाई दबाबमा राख्ने रणनीतिमा पनि एमाले देखिएको छ ।

तथापी, कोशीको सत्ता खेलमा एमालेका निम्ति परिणाम निल्नु न ओकल्नु बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट