प्रसाइँको अभियानलाई किन वेवास्ता गरे पूर्वराजा ज्ञानेन्द्रले ?-Sutra News

प्रसाइँको अभियानलाई किन वेवास्ता गरे पूर्वराजा ज्ञानेन्द्रले ?

आइतबार, २६ कार्तिक २०८०

आइतबार, २६ कार्तिक २०८०

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारलाई नै लगेर मेडिकल व्यवसायी दुर्गा प्रसाइँले २०७९ फागुन १ मा काँकडभिट्टाको मेची पुलबाट ‘नागरिक बचाउ महाअभियान’को सुरुवात गरेका थिए । जुन अभियानको सुरुवातपछि प्रसाइँ निरन्तर राजसंस्थाको पक्षमा अभियान चलाइरहेका छन् ।



राजसंस्थाको पक्षमा अभियान चलाइरहेका प्रसाइँले आगामी मंसिर ७ गते काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । जुन प्रदर्शनको तयारी स्वरुप प्रसाइँले विभिन्न जिल्लामा कार्यक्रमहरु पनि गरिरहेका छन् ।

तर, प्रसाइँले राजसंस्थाको पक्षमा शक्ति प्रर्दशनको तयारी गरिरहँदा पूर्वराजा शाह भने अन्य कार्यक्रमका लागि जुटेका छन् । प्रसाइँले मंसिर ७ मा केन्द्रीय राजधानी काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरिरहँदा स्वयम् शाह भने झापाको कार्यक्रममा सहभागि हुने तरखरमा छन् ।

मंसिर ९ मा गते झापामा कार्यक्रमको तयारी गरिएको छ । पूर्वराजा शाह र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीचको छलफलपछि उक्त कार्यक्रमको आयोजना गरिएको हो । जसलाई सफल बनाउने गरी तयारी थाल्न शाहले निकटलाई निर्देशन दिइसकेका छन् ।

विदेश भ्रमणबाट फर्किएलगत्तै लिङ्देनले पूर्वराजा शाहसँग भेटघाट गरेका थिए । घण्टौं लामो छलफलपछि झापाको कार्यक्रम तय गरिएको थियो । जुन कार्यक्रमको लागि शाह दुई दिन अगाडि नै झापा जाने बताइएको छ ।

पूर्वराजाको पछिल्लो निर्णयसँगै प्रसाइँको काठमाडौं केन्द्रीत शक्ति प्रर्दशन स्वतः अर्थहिन हुने देखिएको छ । घटनाले प्रसाइँलाई पूर्वराजाले खास वास्ता नगरेको पनि देखिन्छ ।

लिङ्देनविरुद्ध आक्रामक अभिव्यक्ति

राजसंस्थाको पक्षमा अभियान चलाइरहेका प्रसाइँले राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध भने आक्रामक अभिव्यक्ति दिइरहेका छन् । उनले राप्रपा र लिङ्देनलाई जनताले नपत्याउने पनि बताइरहेका छन् । उनले लिङ्देन एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा चलिरहेको पनि आरोप लगाएका छन् ।

“राजेन्द्र लिङ्देन कुरा राजा ल्याउने गर्छन्, गणतन्त्रमा गएर असलमा केपी ओलीको धर्मपुत्र नै हो उहाँ, केपी ओलीले जे भन्यो त्यही गर्छन्, राजा ल्याउने भन्यो, गणतन्त्रमा गएर मन्त्री खाइहाल्यो”, उनले भनेका छन् ।

प्रसाइँका पछिल्ला अभिव्यक्तिहरु राप्रपा र लिङ्देनलाई कमजोर बनाउने शैलीका छन् । जसको प्रतिवाद लिङ्देनले नगरेपनि पछिल्लो कदमहरु दुई राजसंस्था पक्षधरबीचको टकरावको रुपमा लिन सकिन्छ । शाहको साथ पाएपछि लिङ्देन बलिया बनेका देखिन्छन् भने प्रसाईँ कमजोर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट