काठमाडौं । तिहारको तेस्रो दिन (गाई पुजाको दिन) पनि सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला पाँच सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँ छ भने तेजावी सुन प्रतितोला एक लाख १२ हजार छ सय पचास रुपैयाँ छ ।
सुनको मूल्य घटेसँगै बजारमा चाँदीको मूल्य पनि घटेको छ । महासंघले जनाएअनुसार आइतबारको तुलनामा तोलामै २० रुपैयाँले घट्दै चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा झरेको छ ।
तीन दिनमा १५ सयले घट्यो सुनको मूल्य
महासंघका अनुसार पछिल्लो तीन दिनमा मात्रै सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले घटेको छ ।
शुक्रबार प्रतितोला एक लाख १४ हजार सात सय रुपैयाँ रहेको सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले घट्दै सोमबार एक लाख १३ हजार दुई सय रुपैयाँ पुगेको छ ।
बजारमा सुनको मूल्य दसैँ यतादेखि नै घट्न थालेको थियो । जुन तिहार लागेसँगै तिव्ररुपमा घटिरहेको छ । महासंघका अनुसार मागमा आएको गिरावटसँगै मूल्य घटेको हो ।