मंसिरका लागि बैंकहरुले घटाए मुद्दती निक्षेपकाे ब्याजदर, कुनको कति ?-Sutra News

मंसिरका लागि बैंकहरुले घटाए मुद्दती निक्षेपकाे ब्याजदर, कुनको कति ?

बिहिबार, ३० कार्तिक २०८०

बिहिबार, ३० कार्तिक २०८०

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुकाे मुद्दती निक्षेपको ब्याजदर घटेकाे छ ।



सार्वजनिक विवरणअनुसार मंसिरका लागि २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने माछापुच्छ्रे बैंकबाहेक अन्यको ब्याजदर स्थिर छ ।

बैंकहरुले औसतमा मंसिरका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.३३१ प्रतिशत र संस्थागत मुद्दती तर्फको ०.३०६६ प्रतिशतले घटाएका छन् । कात्तिक महिनामा बैंकहरूको यस्तो औसत ब्याजदर व्यक्तिगत र संस्थागत निक्षेपतर्फ क्रमशः ९.९६४ प्रतिशत र ७.८५२६ प्रतिशत रहेको रहेको थियो ।

सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक रहेको छ । एनआईसी एशियाले कात्तिक महिनाका तुलनामा मंसिर महिनामा ब्याजदर २.०३५ प्रतिशतविन्दुले घटाएको छ । बैंकले मंसिर महिनामा व्यत्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.९६८ प्रतिशत ब्याज दिने भएको छ ।

एनआईसीपछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबि बैंक लिमिटेड रहेको छ । बैंकले मंसिर महिनाका लागि ब्याजदर १.२४३ प्रतिशतभन्दा घटाएर ९.७६ प्रतिशतमा झारेको छ ।

मंसिरका लागि एभरेष्ट बैंक, प्रभु, सानिमा, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेका छन् । यी बैंकहरूले ब्याजदर पनि गत कात्तिकको तुलनामा ०.२२४ प्रतिशतले घटाएका छन् ।

यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर महिनामा व्यक्तिगत निक्षेप तर्फ ८.९७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगत तर्फ ९.१ प्रतिशत र संस्थागत तर्फ ७.१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले व्यक्तिगत तर्फ ९.५१ प्रतिशत र संस्थागत तर्फ ७.५१ प्रतिशत, कृषि विकासले व्यक्तिगत तर्फ ९.५१२ प्रतिशत र संस्थागत तर्फ ७.५१२ प्रतिशत, ग्लोबल आइएमईले व्यक्तिगत तर्फ ९.६ प्रतिशत र संस्थागत तर्फ ७.६ प्रतिशत ब्याज दिने भएका हुन् ।

त्यसैगरी, हिमालयन बैंक र नेपाल एसबिआईले मंसिरका महिनाका लागि व्यक्तिगत निक्षेप तर्फ १०.६३ प्रतिशत र संस्थागत तर्फ ८.६०३ प्रतिशत ब्याज दिने भएका हुन् ।

मंसिरका लागि नेपाल बैंक, सिटिजन बैंक, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।

मंसिरमा नेपाल बैंकले व्यक्तिगत निक्षेपमा ९.२२४ प्रतिशत र संस्थागत तर्फ ७.२२४ प्रतिशत, सिटिजनले व्यक्तिगत तर्फ ९.९५ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत, सिद्धार्थले व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९, लक्ष्मी सनराइजले व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत, कुमारीले व्यक्तिगत तर्फ १०.०१ प्रतिशत र संस्थागत तर्फ ८.०१ प्रतिशत र प्राइमले व्यक्तिगत तर्फ १०.२५ प्रतिशत र संस्थागत तर्फ ८.२५ प्रतिशत ब्याजदर तोकेका छन् ।

कात्तिकको तुलनामा मंसिरमा माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ भने अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । माछापुच्छ्रे बैंकले मंसिर महिनाका लागि १.११३ प्रतिशत ब्याजदर बढाएर व्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट