काठमाडाैं । अभिनेता इओन लिम्बु आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा दुई कदमबाट डेब्यू गर्दैछन् । अहिले प्रचारप्रसारको दौडधुपमा रहेका उनी सिनेमालाई लिएर निकै उत्साहित छन् ।
ताप्लेजुङका इओन हङकङमा जन्मिएका लिम्बु काठमाडौंमा हुर्किए । अभिनयमा बाल्यकालदेखि रुचि राख्दै आए । अहिले उनले सिनेमा पढिरहेका छन् । उनी अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन् ।
डेब्यू अभिनेता इओन सिनेमालाई लिएर यतिबेला डर, उत्साह, खुशी एकैपटक महसुस गरिरहेका छन् । बाल्यकालमा देखेको सपना पूरा गर्न पाउँदा उनी निकै उत्साहित पनि छन् । तर, सिनेमाको पर्दामा देखेको जस्तो क्यामेरा अघि अभिनय गर्न सहज नरहेको बुझाई उनको छ ।
साथै, उनले नृत्यलगायत सिनेमाको लागि आवश्यक पर्ने सबै तयारी गरेको बताउँछन् । सिनेमाको पहिलो दिन सेटमा पुगेर अभिनय गर्दाको क्षण अनौठो महसुस भएको उनले सुनाए ।
‘पहिलो दिन नै गीतको छायांकन भएकाले मेरा सिंगल सर्ट खिचिएको थियो । क्यामेराअघि उभिदा डर र उत्साह दुवै थियो । तर, निर्देशक उदय सुब्बाले निकै सहज रुपमा अभिनय गराउनु भयो । जसले गर्दा त्यसपछिका दिनमा काम गर्न निकै सजिलो भएको छ’, इओनले अनुभव साटेका छन् ।
सिनेमामा उनले चुलबुले केटाको भूमिका निर्वाह गरेका छन् । जो साथीहरुसँग घुम्न, रमाउन र ट्राभल गर्न रुचाउँछ । ‘आफू रियल लाइफमा पनि त्यस्तै भएकाले डेब्यू सिनेमा भएपनि चरित्र निर्माणको लागि धेरै तयारी गर्नु परेन । आफूले गरेको मेहनत अब चाँडै पर्दामा आउँदैछ सोहीकारण अहिलेको समय आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण लागिरहेको छ’, उनले भनेका छन् ।
इओन आफूले अभिनय गरेको पहिलो चलचित्र सोचेको भन्दा राम्रो बनेको बताउँछन् । सिनेमा क्षेत्रमै करिअर बनाउने सोचमा रहेका उनी पहिलो सिनेमामा भएका कमी कमजोरी सुधार्दै आगामी यात्रा अगाडि बढाउने तयारीमा छन् ।
धेरै मान्छे रहरले सिनेमा क्षेत्रमा आउने र १२ वटा सिनेमा गरेर हराउने भएपनि आफू बाल्यकालमा देखेको सपना पुरा गर्न आएकाले पहिलो सिनेमा जे(जस्तो भएपनि यही क्षेत्रमा करियर बनाउने सोच उनको छ ।
सिनेमाका सार्वजनिक प्रचार सामाग्री पश्चात उनका साथीहरुले पनि उनलाई हौस्याउन थालेका छन् ।
उदय सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमामा इओनका अलवा सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।
अजम्बरी फिल्मस्काे ब्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी रहेको छ । सिनेमामा सिनेमाको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् । सिनेमाको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । एक गीतको छायांकन मुस्ताङमा गरिएको छ ।
दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन सिनेमामा रहेको छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।