काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा तोलामा पाँच सय रुपैयाँले मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुन प्रतितोला एक लाख १६ हजार दुई सय रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला एक लाख १५ हजार सात सय रुपैयाँ थियो ।
नेपाली बजारमा सुनको मूल्य तिहार गएसँगै बढ्न थालेको थियो । कात्तिक २७ मा प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर उकालोमा छ । पछिल्लो पाँच दिनको बीचमा मात्रै सुनको मूल्यमा तोलामै तीन हजार रुपैयाँले वृद्धि भएकाे छ ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि बढ्न थालेको छ । तिहारसँगै बढेको चाँदीको मूल्य सोमबारको तुलनामा पाँच रुपैयाँले बढ्दै मंगलबार तोलामा एक हजार चार सय ५५ रुपैयाँ पुगेको छ ।