काठमाडौं । स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ हिमेश पन्तले सामाजिक सञ्जालमा बिना कसुर गाली खाएका छन् । हिमेश न्यौपाने नामक एक युट्युबरकी पत्नीले फेसबुक लाइभमा आएर पति हिमेशबाट घरेलु हिंसामा परेको बताएपछि कमेडियन हिमेशमाथि गालीको ओइरो लागेको हो ।
यूट्युबर हिमेशकी पत्निले सोमबार राति रुँदै भिडियो लाइभ गरेकी थिइन् । उनले आफूमाथि भएको हिंसाको सहायताका लागि हारगुहार मागेकी थिइन् ।
जुन भिडियो सार्वजनिक भएपछि कतिपयले कमेडियन हिमेशलाई म्यासेज र सार्वजनिकरुपमा गाली गलौज गरेका थिए । आफूलाई गाली गलौजको ओइरो लागेपछि कमेडियन हिमेशले आफू श्रीमति पीडक नभएको भन्दै सामाजिक सञ्जालमार्फत गाली गलौज नगर्न आग्रह गरेका छन् ।
“हिमेश नाम गरेको एकजना पत्रकारले श्रीमती कुटेको भन्ने भिडिओ क्लिप बाहिरिएको रहेछ, हिजोदेखि मेरो इनबक्समा गालीका मेसेजहरू आइरहेका छन्, म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरा त मेरो बिहे नै भएको छैन, दोस्रो कुरा म कुनै पनि घरेलु हिंसालाई समर्थन गर्दिन”, उनले भनेका छन् ।